पहिरोमा परेर ज्यान गुमाएका खेलाडीको घरमै पुर्याइयो राहत

1.08K
shares

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा आएको पहिरोमा परेर ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ एकेडेमीका दुई खेलाडीका परिवारलाई प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका संयोजक तीर्थराज चिलुवालको टोलीले घरमै पुगेर बिहीबार राहत उपलब्ध गराएका छन् ।

सरकारको तर्फबाट प्रजिअ चिलुवालले प्रति मृतकका परिवारलाई २,२ लाख रुपैयाँ चेक हस्तान्तरण गरेका थिए । हेटौंडा उपमहानगरपालिका–१२ का मृतक अनुपम घलानका बाबु ललित घलानलाई दुई लाख रुपैयाँ प्रजिअ चिलुवालले हस्तारन्तरण गरेका थिए । घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख हुन् ।

यसैगरी मकवानपुरगढी–४ का मृतक साइमन योञ्जनका बाबु हेमबहादुर योञ्जनलाई प्रजिअ चिलुवालले दुई लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । उक्त राहत रकम हस्तान्तरण गर्न मकवानपुरका सुरक्षा निकायका प्रमुखहरु पुगेका थिए ।

सिस्नेरीको पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको पहिरोले पुरेर मृत्यु भएको थियो ।

मृत्यु हुनेमा मकवानपुरका तीन जना बाहेक अन्य तीन जनामा सर्लाहीका आदित्य बलम्पाखी, काठमाडौंका प्रियान्स आचार्य र निजगढका बिकल रेग्मी थिए । इन्द्रसरोवर गाउँपालिका–३, वत्सलादेवी माविमा एन्फाले राखेको यू–१३ क्याम्पका ४० खेलाडीमध्ये ६ जना पहिरोमा परेर ज्यान गुमाएका थिए ।