राहतका लागि एक अर्ब विनियोजन, बीपी बाहेक सबै राजमार्ग सुचारु

884
shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पीडितहरुलाई राहतको लागि सरकारले एक अर्ब रकम विनियोजित गरेको बताएका छन् ।

शुक्रबार पूर्वाधार विकास समितिमा भएको बैठकमा उनले राहतका लागि फन्डको आह्वान गरेको भन्दै नेकपा एमाले र नेपाली काङ्ग्रेसले सांसदहरुको १५ दिनको तलब दिने निर्णय गरेको पनि बताए ।

उनले भने, ‘राहतको लागि फन्डको आह्वान गरेका छौं । सरकारले त्यो फन्डमा एक अर्ब पैसा विनियोजित गरिसकेको छ । अरु दाताहरुबाट पनि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट मन्त्रीहरुको एक महिनाको तलब दिने भन्ने निर्णय गरेको छ साथै सांसदहरुको पनि नेकपा एमाले र नेपाली काङ्ग्रेसले निर्णय नै गरेको छ । १५ दिनको तलब दिने भनेको छ । यसमा अन्य पार्टीको पनि सहयोग होला । यसरी फन्ड जम्मा गर्ने काममा पनि लागि रहेकाछाै ।’

यस्तै, उनले वीपि राजमार्गमा फसेका गाडी र मानिसबाहेक सबै उद्धारका कामहरु पनि सम्पन्न भएको बताए ।  उनले अहिलेलाई बीपी राजमार्ग बाहेक अन्य राजमार्ग सञ्चालनमा ल्याउने तयारीमा रहेको पनि बताए ।

यातायातको विषयमा पनि चाडपर्व केन्द्रीत बाटोलाई निर्माण गर्ने बाटोलाई सहज बनाउने भनेर निरन्तर प्रयासमा रहेको उनको भनाई छ ।

बैठकमा असोज ११ र १२ गतेको अविरल वर्षाको कारण राष्ट्रिय राजमार्गहरुमा परेका असर, सोही अविरल वर्षाको कारण जलविद्युत आयोजनाहरुमा परेका असर र सोही कारण कुलेखाने जलविद्युत आयोजनाको ड्यामबाट परेका असरबारे छलफल भएको थियो ।