प्रहरी अधिकृत आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न
वि.सं.२०८१ असोज २२ मंगलवार ०७:५५
shares

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
मंगलबार महाराजगंज स्थित प्रतिष्ठानमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भएको हो ।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. अरूण जोशी, सर्वद्वितीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. संजिब खड्का, सर्वतृतीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. बिनिता बस्नेत, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. मृगेन्द्र कुमार सिंह यादव, कवाज एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विजय सुनार, चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विशाल थापा र प्रहरी कारबाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायव निरीक्षक आर्किटेक्ट बरूण सहनीलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरे
साथै उहाँले तालिम सम्बन्धी गतिबिधि समेटिएको पुस्तक ‘संकल्प’ को विमोचन समेत गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने तथा अपराध रोकथाम एवम् अनुसन्धान गर्न नेपाल प्रहरी राज्यको एक मात्र निकायको रूपमा रहेको चर्चा गर्दै विपद् व्यवस्थापन लगायत अन्य संवेदनशील र जटिलपूर्ण अवस्थामा समेत अग्रपंक्तिमा रहेर आम नागरिकमा सेवा प्रवाह गर्ने महत्वपूर्ण सुरक्षा निकायमा आवद्ध भई निर्दिशष्ट जिम्मेवारी वहन गर्न पाउनु आफैमा गौरवको विषय भएको उल्लेख गरे ।













