पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी, सहिदचोकमा नाराबाजी

लामिछानेलाई जिल्ला अदालतमा म्याद थपका लागि लगियो, सुरक्षा व्यवस्था कडा

1.22K
shares

सहकारी ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ विरुद्ध आन्दोलन चर्किने देखिएपछि कास्की प्रशासनले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुनसक्ने भन्दै निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ ।

त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ ।

उक्त अवधिमा यस आदेशको उल्लघंन गर्ने जोसुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने आदेशमा उल्लेख छ । सहिदचोक आसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

लामिछानेलाई जिल्ला अदालतमा म्याद थपका लागि लगिएको छ । त्यसका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि लामिछाने पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।