जावलाखेलमा कार्तिक ८ गतेदेखि फुल प्रदर्शनी एवम् प्रतिस्पर्धा हुने

975
shares

फ्लोरिकल्चर एशोसिएसन नेपालले १७ औं संस्करणको गोदावरी फूलको प्रदर्शनीको आयोजना गरिने भएको छ ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै फ्यानले ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक ८ देखि ११ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा संचालन गर्न लागेको जानकारी गराएको छ ।

प्रदर्शनीमा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरुका लागि सेल्फी स्टल एकगरी जम्मा ७५ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।

प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने छ ।

प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलको पाँचवटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाती रहने छ ।

साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराईने छ ।

प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी/फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ ।

यस मेलामा नेपालमा व्यवसायिक रुपमा उत्पादन हुदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री बितरण हुनेछन् ।