पूर्णबहादुरको सारङ्गीको कथावस्तु मेल खाएको उपन्यास ‘सङ्ग्रामपुर’को अडियोबुक सार्वजनिक

1.26K
shares

नेपाली चलचित्रको इतिहासमा नयाँ रेकर्ड कायम गर्न लागेको सुपरहिट नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीको कथावस्तुले मेल खाएको भन्दै चर्चामा आएको उपन्यास ‘सङ्ग्रामपुर’को अडियोबुक युट्युबमा सार्वजनिक भएको छ । उपन्यास ‘सङ्ग्रामपुर’को अडियो उपन्यास तथा कथा वाचक अच्युत घिमिरेले सोमबार दिउँसो उपन्यास ‘सङ्ग्रामपुर’को अडियोबुक आफ्नो युट्युब च्यानल ‘बुलबुल कम्युनिकेसन’ मार्फत सार्बजनिक गरेका हुन् ।

घिमिरेका अनुसार अडियोबुकका लागि उनले एकै दिन सबैभन्दा लामो समय वाचन गरेको यो नै पहिलो उपन्यास हो । बजारबाट उपन्यास ‘सङ्ग्रामपुर’को धेरै नै माग भएपछि रातभर लगाएर अडियो रेकर्ड गरेको वाचक घिमिरेले जानकारी दिए । घिमिरेले भने, “पाँच घण्टा रेकर्ड गर्दा पुस्तकको आधा र पाँच पेज सकिएको छ । अब आधा बाँकी छ । मङ्गलबार साँझसम्म अर्को भाग आउँछ ।”

सिनेमाघरमा प्रदर्शन भइरहेको सो चलचित्रको कथा उपन्याससँग मिलेको भन्दै विवादित भएपछि धेरैले उक्त पुस्तक पढ्न खोजेका थिए । तर, बजार र प्रकाशकसँग पुस्तक अभाव भएकाले अडियोबुकलाई विकल्प बनाइएको हो ।

घिमिरेले डा. शिवशंकर बस्यालबाट अनुमति लिएर उनको उपन्यासलाई अडियो बुकको रूपमा युट्युबमा सार्वजनिक गरेका हुन् ।