राजनीतिक क्षेत्रमा महिलाहरूलाई मानसिक हिंसा बढी हुन्छ : ओनसरी घर्ती

845
shares

काठमाडौं । नेपालको पहिलो महिला सभामुख ओनसरी घर्ती मगरले राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिक भन्दा मानसिक हिंसा बढी हुने गरेको बताएकी छिन् ।

‘महिला हिंसाविरुद्घ म बोल्छु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानसिक हिंसा भएपनि महिलाहरुले निरन्तर लडँया गरेर हार मान्न नहुने बताएकी हुन् ।

उनले भनिन्, ‘स्थानीय तहमा ४० प्रतिशत महिलाहरुको उपस्थिति छ भनेर हरेक पुरुष साथीले भाषण गर्नुहुन्छ, राजनीतिमा महिलाहरुलाई शारीरिक भन्दा पनि मानसिक हिंसा धेरै हुन्छ । त्यो मानसिक हिंसा हुँदा खेरी हामीले हार खानु हुन्न । हामीले निरन्तर लडाइँ गर्नुपर्छ । हामी प्रत्येक व्यक्तिको पछाडि लेखियो भने थुप्रै उपन्यास बन्छन् । सबैभन्दा मुख्य कुरा राजनीति हो । सबै कुराको कमाण्ड राजनीतिले गर्छ ।’

साथै उनले महिलाहरु कुनै क्षेत्रमा पनि कमजोर नभएको बताएकी छन् । महिलाहरु समाजको नियममै बसेर हरेक कामहरु दृढतापूर्वक गर्न सक्ने बताएकी हुन् ।

उनले भनिन्, ‘कुनै क्षेत्रमा पनि महिला कमजोर छैनन् । महिलाहरु समाजको नियम मै बसेर हरेक कामहरु दृढतापूर्वक गर्न सक्छन् । तर, म जुन समय महिला सभापति भए त्यो समयको अनुभव मलाई थुप्रै छ । उमेरको हिसावले म सानो सबैभन्दा सानो थिएँ । मन्त्री, सासंद सबैले मलाई छोरी भन्नु हुन्थ्यो । तर, पनि म महिला सभामुख भएर पनि हरेक दलका नेताहरुलाई भेट्न घरघरमा पुग्थे । अहिलेका सभामुख कोही घरघरमा पुगेको सुन्नु भएको छ ?’

साथै, उनले राजनीतिक दलहरुलाई एक बनाउनको लागि आफूले हरेक प्रयासहरु गरेको बताइन् । उनले राजनीतिक दललाई एक नगरीकन र एक ठाउँमा नल्याईकन बनाइएका कानूनहरु दिगो नहुने बताइन् ।