उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारकाविरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
वि.सं.२०८१ मंसिर १२ बुधवार १६:३०
shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारकाविरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् ।
उनले आज भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गरे ।
‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो’ उनले भने, ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा व्याप्त बेथिति, विसंगति र विकृतिकाविरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु ।’
उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भएपनि यसको विशेष अर्थ र महत्व रहेको उल्लेख गर्दै उनले भने, ‘यहाँहरु सबैलाई अवगत नै छ, मैले आफ्नो नेतृत्वमा रहेको सरकारका तर्फबाट देशमा सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध तथा आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ । त्यसैको परिणामस्वरुप देशमा सकारात्मक भाव पैदा भएको थियो र भइरहेको पनि छ ।’
अध्यक्ष प्रचण्डले यो उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रुपमा देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रुपमा अघि बढाएको स्पष्ट पारे ।













