प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
वि.सं.२०८१ मंसिर २० बिहीवार ०८:३९
shares

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर आज स्वदेश फर्किदै छन् ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेका थिए । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं आउने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् ।
यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् ।













