विद्युत् क्षेत्रमा बजेटको अभाव : निर्देशक घिसिङ

  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् क्षेत्रमा बजेटको अभाव भएको बताएका छन् ।

    शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्दै उनले धेरै पूर्वाधारहरू बनाउनुपर्ने भए पनि बजेट अभावका कारण बन्न नसकेको बताएका हुन् ।

    उनले भने, ‘हामीसँग बजेटको अभाव छ । लिमिटेड मात्र बजेट हामीसँग छ । धेरै पूर्वाधारहरू बनाउनुपर्नेछ । अर्थ मन्त्रालयबाट बजेटको धेरै आशा पनि गर्न सकिँदैन। तर यसमा राज्यले बढी हेर्नुपर्छ । नेपालको पूर्वाधार क्षेत्रमा ठूला ठूला विकासका परियोजनाहरूको काम भइरहेको छ । बत्ती र बाटोको विकास भएको छ । जुन हाम्रो ठुलो पूर्वाधारको विकासको आधार हो । नेपालको विद्युत् क्षेत्रको ठुलो विकास हुनेछ, यसका लागि ठुलो लगानी आवश्यक छ । ठुला परियोजनाहरूका लागि वैदेशिक लगानी चाहिन्छ ।’

    यसै गरी, घिसिङले देशमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताए । उनले लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याएको उनको आरोप छ ।

    उनले भने, ‘नेपालमा नकारात्मक कुराहरूको जमात बढ्दो छ । देशमा लोडसेडिङ हुँदा रमाउने जमात धेरै देखेँ । लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याइरहेका हुन्छन् । तर विद्युत् प्राधिकरण नाफामा गयो भन्नासाथ एकदमै खुसी नहुने र घाटामा गयो भने एकदमै खुसी हुने जमात पनि छ ।’

    उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरूमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत् वितरणमा समस्या भएको बताए । माथिल्लो तामाकोसी र काली गण्डकी बन्ने बित्तिकै लोडसेडिङको समस्या समाधान हुने उनको भनाइ छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation