भलिबल फ्रेन्चाइज लिगको लोगो र नारा सार्वजनिक
वि.सं.२०८१ पुस १० बुधवार ०६:१९
shares

काठमाडौं । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ ।
मंगलबार केडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले फ्रेन्चाइज लिगको लोगो र नारा सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा खेलकुद मन्त्री चौधरीले सरकारको निर्देशन र कानुन नमान्ने खेलकुद संघहरुलाई कडा कारबाही गर्ने चेतावनी दिए ।
उनले भने, ‘खेलकुदको माहौल हुँदा हुँदै पनि सरकार, मन्त्रालय, परिषद् छ । प्रत्येकको कानुन ऐन नियमावली छ । तर, कानुन नमान्ने धेरै सृजना भएको छ । म आग्रह गर्छु संघका साथीहरू, निर्णय विरुद्ध काम गर्नु भयो भने त्यो संघहरुलाई कडा कारबाही हुन्छ ।’
‘उचाइको नयाँ उडान’ नारा रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिङ्गल राउन्ड रोबिनका आधारमा खेल हुने छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबिच फाइनल खेल हुनेछ ।












