एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : सञ्चार मन्त्री गुरुङ

1.35K
shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम पत्रिका लोकार्पण समारोहमा बोल्दै उनले एआईको प्रयोग सम्बन्धी पोलिसि ल्याएर त्यस लगत्तै कानुन पनि निर्माण गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘हाम्रो मन्त्रालय बढी लाग्नुपर्ने भएकाले एआईको प्रयोग कसरी गर्ने भनेर यस पटक हामी एआईको प्रयोग सम्बन्धी पोलिसि ल्याउँदै छौँ । र त्यसको पोलिसि ल्याउने बित्तिकै त्यसको कानुन बनाउँछौँ ।’

उनले सहरकारीको विषयमा आफ्नो पार्टीका मानिसलाई बचाउने र रास्वपा लाई मात्र अनुसन्धान गर्यो भन्ने गलत प्रचार भएको छ ।

समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारी ठगीमा संलग्न छ भने भने कांग्रेस एमाले मात्र नभई जुनै पार्टीमा आबद्ध रहेको व्यक्तिमाथि कारबाही हुने उनले बताए ।

उनले भने, ‘अहिले सहकारी अव्यवस्थापनको समस्या एकदमै धेरै देखिएको छ । एक पछि अर्को गर्दै उत्रिँदै छ । समस्याग्रस्त बनेको सहकारीको अनुसन्धानको छुट्टै टिम बनाएको हो । संसदीय समितिले भनेको सबैलाई अनुसन्धान भइरहेको छ सबैलाई एकै पटक छानबिन गर्न त सकिन्न नि । एक थरी राजनीतिक दलहरूलाई के भ्रम छ भने,हाम्रोलाई मात्र गर्यो आफ्नोलाई गरेन भन्ने छ । समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारीका कुनै पनि व्यक्ति कोही पनि छुट्दैन । त्यो सत्तामा रहेको कांग्रेसको होस् कि एमालेको होस् कि माओवादीको होस् । खालि रास्वपा लाई मात्र गर्यो भन्ने गलत प्रचार भयो । हाम्रो अनुसन्धान र न्याय दिने कुरालाई ओझेलमा पार्न खोजेको हो ।’

उनले मुलुकको सुरक्षा, आर्थिक विकास र राजनीतिक प्रतिबद्धताको लागि गर्नुपर्ने धेरै काम अझै बाँकी रहेको बताए ।

आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने अठोट उनको छ ।

उनले भने, ‘मुलुकको सुरक्षाको लागि आर्थिक विकासको लागि र राजनीतिक प्रतिबद्धताको लागि हामीले काम गर्नुपर्ने हुन्छ । तर केही काम भएको छैन । यो वर्ष म त्यहाँ हुँदासम्म सबै काम गरेर नै छोड्छु । मैले नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्छु ।’