राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जबाफदेही हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
वि.सं.२०८१ पुस १० बुधवार १४:११
shares

काठमाडौं । नेपाल पत्रकार महासंघले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई ज्ञापन पत्र प्रदान गरेको छ । बुधवार एक विशेष समारोहकाबीच नवनिर्वाचित सदस्यहरूलाई बधाई तथा ज्ञापन पत्र प्रदान गरिएको हो ।
उक्त बधाई तथा ज्ञापन पत्र कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार क्षेत्रको विश्वसनीयता कमजोर भए राज्य कमजोर हुने बताएका छन् । उनले राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जबाफदेही हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘वास्तवमा पोलिटिकल क्षेत्रका मान्छेहरूले सञ्चार क्षेत्रमा गलत सूचना सुसूचित भएको भनिरहेका हुन्छन् । तर यसमा सञ्चार क्षेत्रले जबाफदेही हुनुपर्छ । यदि यस्तो भएन भने सञ्चार क्षेत्रको विश्वसनीयता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनीयता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनीयता कमजोर भयो भने राज्य कमजोर हुन पुग्छ । यो नहोस् भन्नका लागि पूर्ण ढंगले भूमिका सबैले खेल्नुपर्छ ।’
साथै, उनले राजनीतिक क्षेत्रमा देखा परेका विकृति, विसङ्गतिहरू सञ्चार क्षेत्रले सकारात्मक तरिकाले कलम चालेर समाधान गर्नुपर्ने बताए । उनले राष्ट्रिय मुद्दाहरूमा कांग्रेस र एमाले विगतमा पनि मिल्ने गरेको स्मरण गरेका छन् ।
यसै गरी, उक्त कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथि हुने आक्रमणलाई रोक्नको लागि सधैँ तत्पर रहने बताएकी छन् ।
उनले हरेक व्यवसायी पत्रकारहरूको लागि कहिले कलम डगमगाउन नदिन आफूहरू प्रयत्नशील रहने बताएकी हुन् ।
उनले भनिन् ,‘मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथि हुने आक्रमणलाई रोक्नको लागि सधैँ तत्पर रहने छौँ । हरेक व्यवसायी पत्रकारहरूको लागि कहिले कलम डगमगाउन नदिन आफूहरू प्रयत्नशील रहेर काम गर्ने छौँ ।’
साथै, उनले मिडिया बलियो नभए लोकतन्त्र बलियो नहुने बताइन् । उनले सकारात्मक परिवर्तनका लागि पत्रकार महासंघ सधैँ लोकतन्त्र र राज्यको लागि दरिलो खम्बा बनेर अगाडि बढ्ने बताइन् ।











