बागमती प्रदेश लिग फुटबल : आज २ खेल हुँदै
वि.सं.२०८१ पुस ११ बिहीवार १०:३६
shares

मकवानपुर । बागमती प्रदेश लिग फुटबलको दोस्रो दिन आज दुई खेल हुँदै छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा भएको प्रतियोगिताको पहिलो खेलमा आज समूह डी मा रहेको बट्टर यूथ क्लब नुवाकोटले टाइगर टिम दोलखाको सामना गर्नेछ ।
मध्यान्ह १२:३० बजेबाट सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।
यस्तै, आजै दिउँसो ३ः०० बजेबाट सुरु हुने दोस्रो खेलमा समूह ए मा रहेका थिमी यूथ क्लब भक्तपुर र ब्लु अल्पाइन सिन्धुलीबिच प्रतिस्पर्धा हुँदै छ । दुवै टोली उच्च मनोबल लिएर मैदान उत्रिँदै छन् ।
यसअघि प्रतियोगिता अन्तर्गत हिजो भएको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३-० गोल अन्तरले पराजित गर्दे सुखद सुरुवात गरेको थियो ।
प्रतियोगितामा विजेता तथा उपविजेताले नगद दुई लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
लिगमा मकवानपुरको पदम पोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी यूथ समाज धादिङ, बट्टर यूथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी यूथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी हुनेछन् ।












