जनकपुरधामका व्यापारीहरू आन्दोलित, सडक अवरुद्ध

1.11K
shares

जनकपुरधाम । जनकपुरधामका व्यापारीहरू आन्दोलित भएका छन् । उनीहरूले जनकपुरधामका मुख्य चोक जोड्ने सडकहरू अवरुद्ध समेत गरेका छन् ।

बिहीबार सिद्धार्थ बैंक जनकपुरधामको मिल्स एरिया शाखा कार्यालयबाट एक जना व्यापारीले लिएको ऋणको रकम बुझाउन जाँदा धरौटीमा राखेको घर बैंकले बिना जानकारी लिलाम गरिदिएको थाहा पाएपछि हिजैदेखि जनकपुरधामका व्यापारीहरूले विरोध गर्दै आएका थिए ।

बिहीबार नै सिद्धार्थ बैंकका मिल्स एरिया शाखाका म्यानेजर र लोन अधिकृतलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले नियन्त्रणमा लिएको थियो । तर उनीहरूलाई बेलुका प्रहरीले छाडेको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जिल्ला प्रहरी कार्यालयका एसपी, मालपोत कार्यकालका कर्मचारी र बैंकका म्यानेजर लगायतको मिलेमतो र आर्थिक चलखेलमा व्यापारीको घर बिना जानकारी लिलाम गरेको आरोप लगाएका छन् ।

अहिले जनकपुरधामस्थित सिद्धार्थ बैंकको तीन वटै शाखा कार्यालयहरू अगाडि व्यापक प्रहरीको सुरक्षा रहेको छ । सडकमा उत्रिएका व्यापारीहरू पनि सडक घेरेर विरोध प्रदर्शन गर्दै छन् ।