पीएल सिंहले छाडेर गएका कामहरूलाई निरन्तरता दिनुपर्छ : सभापति देउवा

1.74K
shares

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पीएल सिंहले छाडेर गएका कामहरूलाई हामीले निरन्तरता दिनुपर्ने बताएका छन् ।

शनिबार प्रजातान्त्रिक योद्धा स्वर्गीय सिंहको १३ औँ पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले सिंहको खुलेर प्रशंसा गरे ।

उनले भने, ‘पीएल सिंहलाई कहिले नथाक्ने अत्यन्तै क्रियाशील, सक्रिय व्यक्तित्वको रूपमा मैले लिएको छु । उहाँ सम्पूर्ण काठमाडौंबासीहरुको पनि सेवा गर्नुभयो, अथवा उहाँ अत्यन्तै मेहनती, लोकप्रिय व्यक्ति हुनुहुन्थ्यो । त्यस्तो व्यक्तिलाई हामीले गुमाएका छौ । तर उहाँले छोडेर गएका कामहरूलाई हामीले निरन्तरता दिनुपर्छ ।’

उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा आर्थिक विकास गर्न र कार्यक्रमहरू ल्याउन सिंहको ठुलो भूमिका खेल्नुभएको बताए ।

श्रद्धाञ्जली सभामा बोल्दै उनले पीएल सिंह जनताको लागि समर्पित व्यक्तित्व भएको उल्लेख गर्दै आफ्नो जीवनकालमा धेरै योगदानहरू गरेको बताए ।

उनले भने, ‘पीएलज्यूले आफ्नो जीवनकालमा धेरै योगदानहरू गर्नुभएको छ । उहाँ सबैले मन पराएको मान्छे हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवन नै यो क्षेत्र र गणतन्त्रको लागि समर्पित गर्नुभयो । काठमाडौं महानगरपालिकामा आर्थिक विकास गर्नको लागि कार्यक्रमहरू ल्याउनको लागि निकै ठुलो भूमिका खेल्नुभएको थियो ।’

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि पीएल सिंह जीवनभर जनताको अधिकारको लागि संर्घषरत रहेको बताएका छन् ।

‘उहाँ जीवनभर जनताको अधिकारको लागि संर्घषरत रहनुभयो । गणेशमानजीको निकट रहनुभयो । पार्टी भित्र रहनुभयो । उहाँले अँगालेका सिद्धान्तमा राष्ट्रियता, समाजवाद, नेपाली काँग्रेसको सिद्धान्तबाट कहिले पनि विचलित हुनु भएन,’उनले भने, ‘आफ्नो जीवनशैली व्यवहार बोली बचन, आफू मेयर हुँदाको कार्य योजना, माननीय हुँदाको बिचार सदैव उहाँले सैद्धान्तिक पक्षमा राखेर विचारहरू दिनुभयो । सैद्धान्तिक कुरा मात्र गर्नुभएन व्यवहारमा पनि देखाउनुभयो ।’