भीम रावलको निष्कासन ओलीको निरंकुशता, हामी स्वागतमा आतुर छौँ : घनश्याम भुसाल
वि.सं.२०८१ पुस १३ शनिवार १६:४६
shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले श्रमिकको समस्या समाधान गर्न सडक र सदन दुवै मोर्चा आवश्यक रहेको बताएका छन् ।
शनिवार नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन(नेष्टु)ले आयोजना गरेको कार्यक्रममा भुसालले वर्तमान केपी ओली सरकार मजदुरको पक्षभन्दा पनि माफिया वा दलालहरूको पक्षमा रहेको आरोप लगाए ।
पूर्वमन्त्रीसमेत रहेका भुसालले संविधानले मजदुरको टे«ड युनियन अधिकारसहित सम्पूर्ण सुरक्षाको प्रत्याभूति गरेको भए पनि त्यसको कार्यान्वयन नहुनु दुःखद भएको बताए ।
नेपाली राजनीतिमा गणतन्त्र पूर्णरुपले कार्यान्वयन नहुँदा हरेक क्षेत्रमा बिचौलियाहरूको हालीमुहाली हुने अवस्था आएको बताउँदै भने,‘संविधानको भावना विपरीत सरकारले नै माफियाको संरक्षण गर्दा श्रमजीवी वर्ग थप पीडित भएको र जाँतोमा पिसिएका छन् ।’
मजदुरहरूको हकहितको लागि बनेको कानुन विपरीत आउटसोर्स प्रक्रियाबाट श्रमिक आपूर्ति गर्ने कार्यको भुसालले खेदपूर्ण रहेको बताउँदै भने,‘न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, श्रम कानुनले निर्दिष्ट गरेका सेवा सुविधालाई आउटसोर्सले वञ्चित गर्छ । यस्तो गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । भुसालले गणतन्त्र ल्याउन मुख्य भूमिका खेल्ने श्रमिक वर्गमाथि ओली सरकार निर्मम बनेको भन्दै आक्रोश व्यक्त गरे ।
अर्को प्रसङ्गमा भुसालले एमालेबाट भीम रावललाई निष्कासित गर्ने कार्य केपी ओलीको निरङ्कुशताको पराकाष्ठा भएको बताए ।
चाकरी गर्ने ओलीका मित्र र पार्टीको नीति,विधि र पद्धतिमा हिँड्ने स्वाभिमानी नेता–कार्यकर्ता उनका दुष्मन हुने विषय नौलो नभएको बताउँदै भुसालले भने,‘भीम रावल एक राष्ट्रवादी र स्वाभिमानी नेता भएकाले ओलीले राजनीतिक प्रतिशोध साँधे ।’ भुसालले नेता रावललाई आफ्नो पार्टीमा स–सम्मान स्वागत गर्न तयार रहेको पनि बताए ।
पार्टीका उपमहासचिव मेटमणि चौधरीले नेपालका मजदुरको अधिकारका लागि आफूहरूले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनबाट सशक्तरुपमा आवाज उठाउने प्रतिबद्धता जाहेर गरे ।
चौधरीले विद्यमान श्रम ऐनमा भएको व्यवस्था बमोजिम सम्बन्धित निकायमा उजुरी गर्न जाँदासमेत श्रमिकले न्याय नपाउने विषय गम्भीर भएको पनि बताए ।
एकीकृत ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष विष्णु लम्सालले मजदुर विरोधी कानुन संशोधन गर्न मजदुरहरूलाई सडक आन्दोलनका लागि तयार रहन अपिल गरे ।
आयोजक नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन(नेष्टु)का अध्यक्ष प्रेम बहादुर कार्कीले संविधानको भावना र मर्म विपरीत श्रमिकहरूको श्रम शोषण भइरहेको बताए । उनले श्रमिक आपूर्तिकर्ता परिवर्तन भए पनि श्रमिकको रोजगार सम्बन्ध कायम रहनु पर्ने कानुनी व्यवस्था हुन पर्ने तथा न्यूनतम श्रम मापदण्ड कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
कार्कीले आउटसोर्सबाट व्यापक शोषण भएकाले त्यसलाई इनसोर्समा रूपान्तरण गर्नुपर्ने बताउँदै भने,‘सार्वजनिक खरिद ऐन र श्रम ऐनमा रहेका मजदुर विरोधी ऐनका दफाहरू संशोधन हुनुपर्छ ।’
वरिष्ठ अधिवक्ता शंकर सुवेदीले जेटियूसीसी श्रमिकको अधिकार संरक्षक भन्दा पनि भ्रष्टाचारको अखडा भएको बताउँदै भने,‘त्यहाँ करोडौँ रकम अपचलन गरेर बसेका सिण्डिकेटधारीहरुले राज्यको कुनै निकायमा पनि दर्तासमेत नगरी चलाएकाले त्यसबाट मजदुरको हित हुने कुरै भएन ।’
नेष्टुका महासचिव वेदप्रसाद हुमागाईले सञ्चालन गरेको कार्यक्रममा एकीकृत ट्रेड युनियन महासंघका उपाध्यक्ष सनिता थापा, सोही संगठनका महासचिव दिपक पौडेल, सचिव दिने घिमिरे, नेष्टुका उपाध्यक्ष उद्धव प्रसाद दाहालसहति विभिन्न श्रमिक संगठनका प्रतिनिधीको उपस्थिति रहेको थियो ।













