आर्थिक समृद्धि हासिल गर्न काम गर्ने वातावरण चाहिन्छ : अध्यक्ष ढकाल

1.05K
shares

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक समृद्धि हासिल गर्नको लागि निजी क्षेत्रले सक्रिय रूपमा काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ श्रम संसद् समारोहमा उनले निजी क्षेत्रले सक्रिय रूपमा काम गर्नको लागि सबै ठाउँबाट वातावरण मिलाउन सक्नुपर्ने बताए । उनले भने, ‘आर्थिक समृद्धि हासिल गर्नको लागि निजी क्षेत्रले सक्रिय रूपमा काम गर्न सक्यो भने र त्यसको लागि सबै ठाउँबाट वातावरण मिलाउन सकियो भने मात्र सम्भव हुन्छ भन्ने निजी क्षेत्रको धारणा छ ।’

यस्तै, उनले नेपालमा केही सम्भावना छैन भन्ने नकारात्मक भाष्य चिर्नको लागि नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी मार्फत व्यवसायीहरूलाई इक्यिूटी दिने काम सुरु गरेको बताए ।

उनले भने, ‘नकारात्मक रूपमा नेपालमा केही सम्भावना छैन, भन्ने जुन भाष्य तयार गरिएको छ त्यस्तो होइन । नेपालमा साँच्चै सम्भावना छ, धेरै कामहरू गर्न सक्ने ठाँउहरु छ भन्ने हिसाबमा महासंघको पहलमा महासंघ अन्तरगतका व्यवसायीलगायत अन्य सबै व्यवसायीहरूलाई इक्यिूटी चाहिएको छ भने त्यो कम्पनीमार्फत इक्यिूटी दिने हिसाबले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी भनेर अगाडि बढाएका छौ ।’

देशमा उद्योग व्यवसायको लागि राम्रो वातावरण बन्ने हो भने मात्र राज्यले गरेको अपेक्षा पूरा हुनसक्ने बताए ।

उनले भने, ‘महासंघको तर्फबाट सहकार्य गरेर अगाडि बढ्ने विश्वास पनि दिलाउन चाहन्छु । देशमा उद्योग व्यवसायहरू भयो भने उद्योग व्यवसायको वातावरण बन्यो भने र आर्थिक गतिविधि बढ्यो भने ट्रेड युनियन, मजदुर साथीहरू, व्यवसायी र राज्यले गरेको अपेक्षा पूरा हुनसक्छ भन्ने हामी सबै बुझाई छ । आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने काम भयो भने देशमा आर्थिक समृद्धि आउन सक्छ ।’