माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने

1.29K
shares

काठमाडौं । सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने भएको छ ।

बुधवार सिंहदरबारमा पुस १६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले प्रत्येक वर्ष माघ १४ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले देशभर सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको जानकारी दिए ।

बैठकले महान्यायाधिवक्ता कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी पहिलो संशोधन कार्यविधि स्वीकृत गरेको छ ।

बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी मोडलमा विकास तथा सञ्चलन गर्न स्वीकृति दिएको छ । त्यस्तै आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रशासन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

त्यस्तै प्रहरी अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ भने राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए ।

त्यस्तै मन्त्रिपरिषद्ले खानेपानी तथा सरसफाइ नियमावली, ऊर्जा विकास मार्गचित्र स्वीकृत गरेको छ भने निकासी पैठारीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।