मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा जनताले बुझ्दै गएका छन् : अध्यक्ष दाहाल
वि.सं.२०८१ पुस १९ शुक्रवार १२:०२
shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताए ।
उनले भने, ‘हामीले आदर्शका कुरा त धेरैले गर्छौँ तर व्यवहारमा कसले के गर्छ भन्ने महत्त्वपूर्ण हुन्छ । यसमा नियत र निष्ठा बढी महत्त्वपूर्ण हुने रहेछ । के हामी भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक जसरी जानुपर्ने हो गएका छौँ त ? नेपाली समाजले राजनीतिक दलहरू र सरकारबाट त्यो महसुस गरेको छ त ? यो गम्भीर प्रश्नको जवाफ दिनै पर्छ ।’
उनले आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमानदारिताका साथ काम गरेको स्मरण गराए ।
उनले भने, ‘मैले सरकारमा रहँदा जे बोल्थे र गर्थेँ, अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु । मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब बिस्तारै जनताले बुझ्दै गएका छन् ।’
जहाँ भ्रष्टाचार भएको छ भन्ने जनताले आशङ्का गरेका छन् र सदनमा गम्भीर प्रश्न उठेका छन्, त्यहाँ राजनीतिक नेतृत्वको इमानदारिता जनताले जाँच्न खोजेको पनि उनको भनाई छ ।
उनले भने, ‘म यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार छु । मैले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लिएको सङ्कल्पमा अहिले पनि दृढ छु, यसमा पत्रकारिता क्षेत्रको पनि साथ सहयोग चाहिएको छ ।’
नेपालको राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट गर्दै उनले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए ।









