विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव : सामाजिक परिवर्तनको नायक बन्नुहोस्

1.17K
shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिकर्मीहरुद्धारा गरिने साहित्य सृजनाले सामाजिक परिवर्तनको अभियानलाई थप बल पु¥याउने बताएकी छिन् ।

शुक्रवार काठमाडौंमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक विमोचन समारोहमा उनले साहित्य समाजको दर्पण मात्र नभई राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणको लागि महत्त्वपूर्ण माध्यम पनि भएको बताइन् ।

उनले भनिन्,‘प्रस्तुत किताब साहित्यिक चेतको निरन्तरता हो । साहित्य समाजको दर्पण मात्र होइन । राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणको लागि महत्त्वपूर्ण माध्यम पनि हो । साहित्य कलात्मक सुन्दर र आदर्श अभिव्यक्ति मात्र नभएर विचारको संवाद समेत हो ।सामाजिक आर्थिक रूपान्तरणको अभियानमा लागेका राजनीतिकर्मीहरुद्धारा गरिने साहित्य सृजना पनि अन्ततः सामाजिक परिवर्तन कै अभियानलाई थप बल पु¥याउछ ।’

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किएर कसैको बन्ने भन्दा पनि सामाजिक परिवर्तनको नायक बन्न सुझाव दिए । यदि कसैले शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने देशको सामाजिक अभिभावक बन्नुपर्ने धारणा राख्ने उनले बताए ।

उनले भने,‘राजनीतिमा आउन चासो राखेको हो कि भन्ने कुरा पनि आउँछ । पूर्वराष्ट्रपतिले के गर्ने भनेर कसैले सोध्यो भने मेरो सुझाव सामाजिक रूपान्तरणको प्रेरकको रूपमा रहनुपर्छ भन्ने छ । तर राजनीतिमै फेरि आउन चाहनु भएको हो कि भन्ने चर्चा छ । यदि कसैले सोध्छ तिम्रो देशको शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने मैले सामाजिक अभिभावक यो देशलाई चाहिएको छ । ताकि कुनै आमाहरूले पीडा सहन नपरोस् । राजनीतिमा लागेर कसैको मात्र बन्ने पनि सुविधा छ । राजनीतिभन्दा पर अर्थात् माथि सामाजिक परिवर्तनको नायक बन्न जरुरी पनि छ ।’