नेपाली कांग्रेसले आउने चुनावमा एक्लै लड्छ : नेता सिंह
वि.सं.२०८१ पुस २० शनिवार १४:२६
shares

महोत्तरी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लड्ने बताएका छन् ।
नेपाली कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दिबासमा शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरे । केही समयअघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको पनि उनले बताए ।
महासमिति बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको र केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गरिसकेको उनले बताए ।
‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति बैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ’, कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने, ‘पार्टीको मुख्य शक्ति संगठन हो । त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ ।’ समाजसेवाको सबैभन्दा राम्रो माध्यम राजनीति भएको भन्दै उनले सेवा भावले सक्रिय हुनुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रीसमेत रहेका सिंहले सहरी विकास मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेको बताए ।
सर्लाहीको हरिपुर नगरपालिकामा सहरी विकास मन्त्रालयले बनाएको व्यावसायिक भवनको उद्घाटनमा जाने क्रममा महोत्तरीमा पार्टीले आयोजना गरेको कार्यक्रममा सिंह सहभागी भएका हुन् ।
सिंह शुक्रवार कांग्रेस सिराहाले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु भएको भने शनिवार रौतहटमा हुने पार्टी कार्यक्रममा सहभागी हुनेछन् ।











