आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र चाहिएको छ : प्रचण्ड

1.29K
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीहरूको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीहरूले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ’उनले भने, ‘अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका संकेतहरु देखा पर्न थालेका छन् । लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धनमार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको छ ।’

लामो राजनीतिक संघर्ष र ठूलो बलिदानपछि देशमा जनताको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गर्दै उनले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए ।

सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन सम्भव भएको स्पष्ट गर्दै उनले देशको सम्पूर्ण ध्यान आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा केन्द्रित गर्ने बेला आएको बताए ।

‘यहाँहरू जानकार नै हुनुपर्छ, मैले तीनपटक प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक सुधारका लागि उल्लेख्य थालनीहरू गरेको थिएँ । मेरो पहिलो कार्यकाल पूर्वाधार विकास र प्रशासनिक सुधारमा केन्द्रित थियो’– अध्यक्ष प्रचण्डले भने, ‘मध्यपहाडी लोकमार्ग जस्ता राष्ट्रिय गौरवका परियोजनाले पहाडी क्षेत्रको अर्थतन्त्रलाई सुदृढ गर्न महत्त्वपूर्ण सफलता प्राप्त भएको छ । मेरो दोस्रो कार्यकाल नेपालको इतिहासकै महत्त्वपूर्ण मानिएको ऊर्जा संकट समाधानमा केन्द्रित थियो ।’

दिनमा १८ घण्टासम्म लोडसेडिङ भित्तामा लोडसेडिङको तालिका टाँसेर आफ्नो उद्योग व्यवसाय सञ्चालनको समय पर्खनुपर्ने जर्जर अवस्थालाई अन्त्य गर्दै आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा लोडसोडिङमुक्त उज्यालो नेपालको थालनी गरिएको स्मरण गर्दै उनले भने– ‘नेपालको अर्थतन्त्र सुधारका लागि यो ऐतिहासिक कोशेढुंगा थियो भन्नेमा आम उद्योगी व्यवसायीहरु जानकार नै हुनुहुन्छ । मेरो दोस्रो कार्यकालकै परिणामको स्मरण गर्दा चौधौँ राष्ट्रिय योजनामा लक्ष्यभन्दा बढी ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुनु महत्त्वपूर्ण प्रगति थियो ।’

अध्यक्ष प्रचण्डले आफूले तेस्रो पटक सरकारको नेतृत्व गर्न पाउँदा सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिलाई महत्त्वपूर्ण राष्ट्रिय एजेन्डाको रूपमा स्थापित गरेर यसलाई राज्यको अभियानकै रूपमा अघि बढाएको बताए ।

चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणसम्म आइपुग्दा हामीले अर्थतन्त्रका रूपान्तरणकारी क्षेत्रको पहिचान र परिचालनका लागि स्पष्ट योजना अघि सारेका जानकारी दिँदै उनले भने– ‘कृषिलाई आधार र सूचना प्रविधिलाई नेतृत्वदायी भूमिकामा राख्ने अवधारणासहित कृषि, पर्यटन, जलविद्युत, उद्योग र सूचना प्रविधि क्षेत्रलाई रूपान्तरणकारी क्षेत्रका रूपमा पहिचान र परिचालन गर्नु आर्थिक समृद्धिको क्षेत्रमा महत्त्वपूर्ण सुरुवात हो । हामीले व्यवस्थितरुपमा अघि बढाएका यी आर्थिक सुधारका पहल र कार्यक्रम वर्तमान सरकारले त्यही गतिमा सञ्चालन गरिरहेको छैन । नेपाल राष्ट्रिय व्यवसायी महासंघ लगायत आर्थिक क्षेत्रका नेतृत्वदायी संस्थाहरूले अघिल्लो सरकारले अघि बढाएका अर्थतन्त्र सुधारका व्यवस्थित पहल र योजनाहरू कार्यान्वयनका लागि सरकारलाई दबाब दिन आवश्यक देखिएको छ र त्यसका लागि सबै व्यवसायी साथीहरूलाई म आग्रह पनि गर्दछु ।’