जिम्मेवार दलहरू नै संघीयताप्रति उदार छैनन् : गगन थापा

1.01K
shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कुनै पनि राजनीतिक दलहरू संघीय व्यवस्थाप्रति उदार नरहेको बताएका छन् ।

मङ्गलवार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले शासकीय जिम्मेवारी लिएका दलहरूले नै संघीयताप्रति अनुदार रहेको बताएका हुन् ।

उनले भने, ‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौ र लिएका छौँ, कोही पनि संघीयताप्रति उदार छैनौ । एकदमै अनुदार छौ । यसमा रुचि छैन । मैले नयाँ दलहरू पनि हेरेँ, क्षेत्रीय दलहरू पनि हेरेँ । जसले बाहिर जे जे भने पनि भित्र सरकार चलाउने ठाउँमा कसैले पनि सर्त राख्दैनन् ।’

उनले मधेश र माओवादी आन्दोलनको पनि निकै ठुलो महत्त्व रहेको बताए । उनले संघीयताको विषयमा कांग्रेस एमालेमा बहस गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘संघीयताको विषयमा बहस छलफल कि मधेश आन्दोलन, कि त माओवादी आन्दोलनसँग जोडेर बहस गर्छौँ । दुवै आन्दोलनको महत्त्व ठूलो छ । तर अलिक फरक रुपमा पनि हेर्नपर्छ । केन्द्रमा मात्र सबै अधिकार यस्तै हुन्छ भनेर बुझ्नपर्छ । शासकीय बिजनेसमा यसलाई बदल्न सक्नुपर्छ । सबै राजनीतिक पार्टीको घोषण पत्रमा संघीयताप्रति कमिटमेन्ट छ । यो संस्थागत कमिटमेन्ट हो ।’

कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले संविधान कार्यान्वयनको विषय धेरै चुनौती र पेचिलो रहेको बताए ।

उनले भने, ‘संविधान रचना कालमा जति अथक पहल, प्रयत्न, पैरवी भयो अब कार्यान्वयन गर्ने पाटोमा सक्रिय रहनुपर्छ । यसको मर्म अनुसार कार्यान्वयन त्यतिकै उन्न स्तर र हार्दिकताको जिम्मेवारी बोधका साथ समझदारीका साथ जान सक्नुपर्दथ्यो । त्यहाँनेर ल्याकिङ भयो । कार्यान्वयनमा चुनौती र पेचिलो छ ।’