एमाले बैठकबाट पारित १४ विशेष प्रस्ताव के-के ?

1.16K
shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गरेको छ ।

आइतबारदेखि सुरु भएको बैठक उक्त प्रतिवेदन पारित गर्दै मङ्गलवार सकिएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

उनले भने, ‘तीन दिनसम्म चलेको लगातारको बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलले प्रस्तुत गर्नु भएको संगठन सम्बन्धी जानकारी पारित भएको छ ।’

बैठकमा महत्त्वपूर्ण १४ वटा विशेष प्रस्तावहरू पारित गर्दै बैठक समापन भएको छ ।

बैठकका प्रस्तुत समसामयिक प्रस्तावहरू :

१. राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको छ। मुख्य राजनीतिक दलहरूको नेतृत्वमा ७ दल सहभागी भएर बनेको यस सरकारसँग जनताका धेरै अपेक्षाहरू छन् । सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा छ। सत्तारूढ दलहरू बिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सफल होस् भन्ने यो बैठक कामना गर्दछ। नेकपा (एमाले) यस सहमतिको कार्यान्वयन र सरकारको सफलताका लागि हर सम्भव योगदान गर्न प्रतिबद्ध छ ।

२. सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल, भूकम्प र महामारी जस्ता चुनौतीका बिचमा नेपालले गएको साढे तीन दशकमा हासिल गरेका उपलब्धिहरू महत्त्वपूर्ण छन् । यद्यपि आज पनि सुस्त विकास, न्यून आर्थिक वृद्धि, बेरोजगारी र परनिर्भरता जस्ता चुनौतीहरू विद्यमान छन् । राष्ट्रिय पूँजीको निर्माण गर्दै र स्वाधीन अर्थप्रणालीको विकास गर्दै समाजवाद उन्मुख राज्य निर्माणमा हामी दृढ सङ्कल्पित छौं। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अवश्य पूरा हुन्छ भन्ने आत्मविश्वास बलियो बनाउन र यस सामाजिक आर्थिक रूपान्तरण र समृद्धिको अभियानमा सहभागी हुन यो बैठक आह्वान गर्दछ ।

३. स्वदेशभित्र अवसर नदेखेर या भएको अवसर सदुपयोग गर्न नसकेर भइरहेको युवाहरूको ठूलो सङ्ख्यामा प्रवासनप्रति नेकपा (एमाले) चिन्तित र संवेदनशील छ । देशभित्रै केही गरौ भन्ने हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग र साझेदारी गर्दै युवाहरूमा उद्यमशीलताको विकास गर्न, उनीहरूलाई उत्पादन, रोजगारी र स्वरोजगारीमा जोड्न र सूचना प्रविधि लगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्दै समृद्धिका संवाहकका रूपमा युवाहरूलाई परिचालन गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ । ५० को दशकमा सशस्त्र द्वन्द्व, ६० को दशकमा शान्ति स्थापना र ७० को दशकमा संविधान निर्माण गर्दै अगाडि बढेको मुलुकमा ८० को दशकलाई समृद्धिको दशक र रोजगारी सिर्जनाको दशकको रूपमा अगाडि बढाउन सरकार सफल होस् भन्ने बैठक कामना गर्दछ ।

४. गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरु गरेका कदमहरू सकारात्मक छन्। यो बैठक भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरुद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, अनियमिततामा मुछिएका जोसुकैका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी घर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुर्याउन सरकारको ध्यानाकर्षण गर्दछ । र, आफ्नो पङ्क्तिमा सदाबार, स्वच्छता र पारदर्शिता सुनिश्चित गर्ने गराउने दृढ सङ्कल्प गर्दछ ।

५. नेपालको संविधान कार्यान्वयनको दश वर्ष हुन लागेको छ। संविधान कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गर्दै यसका सबल र दुर्बल पक्षहरूलाई निक्र्योल गर्न र संविधानका प्रगतिशील अन्तरवस्तुहरूको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी वृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन पर्न यो बैठक सरकारसँग आग्रह गर्दछ ।

६. मिथ्यासूचना (मिसइन्फर्मेशन), दुराशययुक्त सूचना (डिसइन्फर्मेशन) र भुशुष्ठा सूचना (फेक इन्फरमेशन) आज विश्वव्यापी चुनौती बनेको छ। यसले समाजमा विभाजन, प्रदूषण र नैराश्य सिर्जना गरिरहेको छ। नेपाल पनि यो समस्यासँग जुझिरहेको छ । यो बैठक संविधानप्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्दै मिथ्याप्रचारलाई रोक्न राज्यका नियामक निकायहरूको भूमिका थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्दछ। पार्टी पक्तिलाई सूचना प्रविधिको सही सदुपयोग गर्न र सरकार तथा पार्टीले हासिल गरिरहेका सकारात्मक उपलब्धि, सफलता र अग्रगतिका सूचना मार्फत् जनतामा आशा र भरोसा जगाउन एवं दुराशययुक्त सूचनालाई खण्डित र निष्प्रभावी बनाउन आह्वान गर्दछ ।

७. गतः वर्ष जाजरकोट र रुकुम (पश्चिम) मा गएको भूकम्पबाट प्रभावित भूकम्पपीडितहरूको पुनस्र्थापना र पुननिर्माणका काममा भइरहेको ढिलाइप्रति यस बैठकको गंभीर ध्यानाकर्षण भएको छ। यो बैठक अबिलम्ब बाँकी किस्ता राहत सहयोग उपलब्ध गराई पुनस्र्थापना र क्षतिग्रस्त क्षेत्रमा पुननिर्माणमा तीव्रता दिन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । साथै, गएको असोज दोस्रो साता बागमती प्रदेश लगायत विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिबाट प्रभावितहरूको पुनस्र्थापना र पुनर्निर्माणका लागि पनि बैठक सरकारसँग गंभीर आग्रह गर्दछ ।

८. सुदूर पश्चिम र कर्णाली प्रदेशमा बारम्बार गइरहेका ससाना भूकम्पका धक्काहरूले त्यस क्षेत्रमा त्रास बढाएको छ। यही पुस ६ गते बिहान बाजुराको जगन्नाथ ५ गोत्री केन्द्रबिन्दु बनाई गएको भूकम्पले सयौं घरहरू भत्काएको छ। आज चीनको तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पले नेपालमा पनि केही भौतिक क्षति पुगेको छ । संभाव्य प्राकृतिक विपत्तिको पूर्वतयारीलाई प्रभावकारी बनाउन आवश्यक रहेको कुरामा जोड दिँदै यो बैठक यस विषयमा सङ्घ, प्रदेश, स्थानीय तह र नागरिकहरू बिच बलियो साझेदारी निर्माणका लागि सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ ।

९. आज विहान चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से नजिकै केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले हालसम्म चीनमा ९५ जनाको ज्यान गएको र ठूलो भौतिक क्षति पुगेको छ । यस प्राकृतिक विपत्तिबाट पीडित चिनियाँ जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्दछ ।

१०. निर्णायक राष्ट्रिय शक्तिको निर्माण मुलुकको आवश्यकता हो। यस्तो शक्तिको निर्माणबाट मात्रै राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता, र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न संभव छ । यस्तो शक्तिको निर्माण नेकपा (एमाले) को नेतृत्वमा मात्रै संभव छ । यस यथार्थलाई मनन गर्दै निर्णायक राष्ट्रिय शक्ति निर्माणको यस अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायत कारणले पार्टी बाहिर रहनु भएका सबै कमरेडहरू र स्वतन्त्र वड्गले क्रियाशील रहनुभएका मित्रहरूलाई नेकपा (एमाले) मा फर्कन, यसमा आबद्ध हुन र सक्रिय हुन यो बैठक आहवान गर्दछ ।

११. यो बैठक श्रमजीवी जनता र विपन्न नागरिकहरूलाई केन्द्रमा राखेर दैनिक उपभोग्य बस्तुहरूको सहज आपूर्ति गर्न, महट्टी नियन्त्रण गर्न, कालोबजारी, मिसावट नियन्त्रण गर्नका लागि बजारको प्रभावकारी अनुगमन तथा नियमन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । आफूले उत्पादन गरेको कृषि उपजहरूको उचित बजार र मूल्य किसानहरूले पाउने कुरा सुनिश्चित गर्न, बिचौलियाको बिगबिगी अन्त्य गर्न र स्वदेशी कृषि उत्पादनको संरक्षण गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ ।

१२. यो बैठक पार्टीका विभागहरूका तर्फबाट तयार गरी सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएका सुझावहरूको प्रभावकारी र क्रमबद्ध कार्यान्वयनका लागि नेपाल सरकारसँग माग गर्दछ ।

१३. यो बैठक विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूमा भइरहेका बन्द, हडताल र अवरोधका घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दछ। यस्ता गतिविधिले गुणस्तरीय शिक्षाको राष्ट्रिय लक्ष्यमा गंभीर नकारात्मक प्रभाव पार्नुका साथै विद्यार्थीहरूको वाय प्रवासनलाई बढावा दिइरहेको छ । यो बैठक त्यस्ता शैक्षिक संस्थाहरूलाई हडतालमुक्त क्षेत्र घोषणा गर्न र स्वस्थ प्राज्ञिक वातावरण निर्माणका लागि प्रभावकारी भूमिका खेल्न सरकारसँग आग्रह गर्दछ। सम्बद्ध विद्यार्थी, प्राध्यापक र कर्मचारी सङ्घसंस्थाहरूलाई यस अभियानमा सकारात्मक योगदान गर्न आह्वान गर्दछ ।

१४. गतः २०८१ कार्तिक २४ गते पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवीप्रसाद पोखरेलको दुःखद निधन भएको छ । तत्काली सन्देश समूह मा आबद्ध हुँदै कोकेसँग एकीकरण गर्न र नेकपा (माले) र एमालेको विकासमा महत्त्वपूर्ण योगदान गर्नुभएका कमरेड देवीप्रसाद पोखरेलको निधनप्रति गहिरो शोक व्यक्त गर्दै यो बैठक उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।