जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आङ्कलन माघ दोस्रो हप्तासम्म सुरु हुने

1.21K
shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आङ्कलन माघ दोस्रो हप्तासम्म सुरु गरिसक्ने जानकारी दिएका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विषयमा गृह मन्त्रालयसँग छलफलमा उनले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आङ्कलन गर्ने गरेर सम्पूर्ण तयारी भइसकेको बताएका हुन् ।

उनले भने, ‘जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आङ्कलन गर्ने गरेर सम्पूर्ण तयारी भइसकेको छ । आवश्यक रकमको व्यवस्था भइसकेको छ । आवश्यक मापदण्डहरू कार्यविधिहरूको तयार भइसकेको छ । अब दुई हप्तामा नै हामी डीडीएको काम प्रारम्भ गछौं ।’

त्यस्तै उनले सरकार संघीय संसदको बैठक अधिवेशन चाँडै आव्हान गर्ने तयारीमा रहेको बताए । संघीय संसदको आव्हान रोक्दा पनि धेरै कामहरू भइरहेको भन्दै बेकाम भएको भन्न चाहिँ नमिल्ने बताए ।

उनले भने, ‘संघीय संसदको बैठक अधिवेशन सरकार चाँडै आव्हान गर्ने भएको छ । तर त्यसको अर्थ संघीय संसदको आव्हान रोक्दा चाहिँ म बेकामे भएको भन्ने होइन । यो काम नै हो नि हामीले जुन काम रहेको छौँ यो काम नै भएकाले बेकामे भएको छैनौँ ।’ उनले राष्ट्रिय परिचय पत्रलाई दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाए ।