दैवले ठगेका नरेन्द्र, परिवारमाथि यसरी पर्यो बज्रपात (भिडिओ)

1.05K
shares

काठमाडौं । दैवले ठग्यो भने शायद जतिसुकै प्रार्थना गरे पनि जीवन दुःख र संघर्षमा बाँच्नुपर्ने बाध्यता हुँदो रहेछ । अहिले यस्तै कठिन बाध्यता आइलागेको छ, हुम्लाको चंखेली गाउँपालिका वडानम्बर २ का २६ वर्षीय नरेन्द्र भियालको जीवनमा ।

आफ्नो बिरामी शरीर, बिरामी मात्रै होइन एक ठाउँमा स्थिर नै हुन नसक्ने शरीर, नशाको उपचार गर्न जाँदा दुर्घटना परेर भाँचिएको खुट्टा, अहिले अर्को अप्रेसनको पर्खाइ । उनको जीवन कथा यही सकिन्न । त्यही बिरामी शरीर लिएर अहिले ग्रिनसिटी अस्पतालमा बुवाको उपचारमा खटिनुको पीडा यो भन्दा दर्दनाक छ । अस्पतालको २१ नम्बर बेडमा उपचाररत बिरामी बुवाको सेवाका लागि उनी दिनरात भोकभोकै खटिइरहेका छन् । सकैले दिए खाना खान्छन् नदिए भोकै ।

२ बच्चाका अभिभावक उनको टाउकोको नशा च्यापिएको छ । एउटा अप्रेसन भयो । त्यही अप्रेसन गर्न जाँदा मोटरसाइकल दुर्घटनामा खुट्टा भाँचियो । अहिले खुट्टामा स्टिल छ । डाक्टरले नशाको अर्को अप्रेसन चाँडै गर्नुपर्ने भनेका छन् ।

नरेन्द्रलाई आफ्नो अर्को अप्रेसनको भन्दा बढी पीर अस्पतालको शय्यामा रहेका बुवाको उपचारको छ । उनका बुवाको मुटु सुन्निएको छ, फोक्सोमा पानी जमेको छ ।

अहिलेसम्म अस्पतालको बिल १ लाख नाघेको छ । अस्पताल प्रशासनले अहिलेसम्म भर्नाको कुनै शुल्क नलिएको बताएको छ । यो बिल भनेको अहिलेसम्मको फार्मेसीको हो । यति मात्रै होइन अस्पतालले उनको भाँचिएको खुट्टाको पनि निःशुल्क उपचार गरिदिएको हो ।

नरेन्द्र भन्छन्, ‘अहिलेसम्म सबैको सहयोगले यहाँसम्मको उपचार सम्भव भयो तर के हुने हो थाहा छैन । हिजो मेरो खुट्टाको पनि निःशुल्क उपचार गरिदिए यहाँ चिनेको भएर बुवालाई यतै नै लिएर आएको हुँ । अहिलेसम्म अस्पतालले निकै गुन लगाएको छ ।’

अस्पतालको शय्यामा जीवनको परीक्षा दिइरहेका उनका बुवालाई थप उपचारको नाममा बिरामी छोरालाई पीडा दिनु छैन । भन्छन्, ‘अहिले यो अस्पतालको बिल तिरेर घर जान सके भैहाल्थ्यो । नसकिने भयो छोरालाई मात्रै कति दुःख दिनू ।’

उनी निको भएर जान लागेका होइनन् कि आफ्नो छोरालाई कति पीडामाथि पीडा दिनू भनेर बिरामी शरीर नै बोकेर घर जान्छु भनेका हुन् ।

उनीहरू भेटघाट गर्न आएका मान्छेहरूसँग जति शब्द बोल्छन् ठिक त्यही नै पीडा आँखाबाट बग्ने आँसुले देखाउँछ ।

आफ्नो अप्रेसनका लागि जम्मा भएको केही रकम उनले बुवाको उपचारमा खर्च गरे । गाउँकाले सहयोग गर्नुको सट्टा कुरा काट्ने गर्छन् । नरेन्द्र भन्छन्, ‘पालिकाले १० हजार गाडी भाडा दिएर पठाएको थियो । अरूले त कुरा मात्रै काट्छन् हौसला दिए पनि हुन्थ्यो । तर कहिले काहीँ आत्महत्या गरौँ जस्तो लाग्छ । जीवनसँग हारिसके ।’

(भिडिओ)