समाजवादी मोर्चालाई प्रभावकारी रूपमा अगाडि बढाउन सकिएन : नेपाल
वि.सं.२०८१ माघ १५ मंगलवार १६:४४
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चालाई प्रभावकारी रूपमा अगाडि बढाउन नसकेको बताएका छन् ।
मङ्गलवार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले मेचीदेखि महाकालीसम्म देशदेखि विदेशसम्म राजनीतिमा तरङ्ग पैदा गर्न सक्ने तीन घटक एक हुँदा पनि प्रभावकारी काम नभएको बताएका हुन् ।
उनले भने, ‘हामीले यो समाजवादी मोर्चालाई वास्तवमा जसरी अगाडि बढाउनु पर्ने थियो बढाउन सकेनौ । यसलाई गतिशील गर्नैपर्छ । तीनवटा घटक त हामी नै छदै छौ । यी तीनवटा घटक पुरानै घटक हुन् । मेचीदेखि महाकालीसम्म देशदेखि विदेशसम्म राजनीतिमा तरङ्ग पैदा गर्न सक्छौ । त्यो क्षमता र शक्ति छ । यो सँगै आफ्नो पार्टीका गतिविधि पनि बढाइरहेका छौं । किनभने एकतामा नै बल हुन्छ ।’
यसको साथै, उनले देशव्यापी रूपमा सन्देश सभाहरू भइरहेको अवस्थामा अहिलेका प्रधानमन्त्रीले दलहरू विभाजित हुने अवस्था सिर्जना गरेको पनि बताए ।
उनले भने, ‘देशैभर सातैवटा प्रदेशमा सन्देश सभाहरूको आयोजना गर्यौँ । समाजवादी मोर्चाको सन्देश सभा भयो र राम्रो नै प्रस्तुति भएको थियो । प्रदेशपछि जिल्लामा पनि यस्ता सभा हुन्छ कि भन्ने आशा गरिरहेको थियो तर त्यो गर्न सकेनौँ । किनभने राष्ट्रिय राजनीतिमा केही परिवर्तनहरू भए । आन्तरिक काममा व्यस्त हुने अवस्था भयो । घटक दलहरू विभाजित हुने अवस्था पनि भयो । जनता समाजवादी पार्टी नेपाल विभाजित भयो । यो विभाजन अरूले गरेको होइन अहिलेका प्रधानमन्त्रीले नै गरेका हुन् ।’
गफमा अगाडि परिणाममा सधैँ पछाडि पर्ने अवस्था भएको हुनाले जनताले विकल्पको खोजी गरिरहेकाले ०८४ को चुनावको पर्खाइमा रहेको उनले बताए ।













