रास्वपाले रवि लामिछानेको सांसद पद निलम्बनको विरोध जनाउने

1.25K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बनको विरोध जनाउने निर्णय गरेको छ ।

बुधवार केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले राजनीतिक प्रतिशोधको आधारमा लामिछानेलाई सम्पत्ति शुद्धीकरणको समेत मुद्दा दायर गरेर सांसदको पद निलम्बन गरिएको भन्दै त्यसको विरोध जनाउने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनले भने, ‘सरकारले राजनीतिक प्रतिशोधको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सांसद रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको समेत मुद्दा दायर गरेर जुन उहाँको सांसदको पद निलम्बन गरिएको छ । त्यो संसदको प्रतिनिधि नियमावलीको विरुद्ध भएको ठहर गर्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले सरकारले अहिले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको भन्दै त्यो अध्यादेश अस्वीकारको सूचना प्रस्ताव गर्ने पनि निर्णय गरेको उनले जानकारी दिए ।

उनले सम्पत्ति शुद्धीकरणको मुद्दा संविधानको विपरीत रहेको भन्दै आफूहरूले चाँडै न्याय पाउने विश्वास व्यक्त गरे ।