अध्यादेशमार्फत देशमा व्यावसायिक वातावरण प्रवर्द्धन गर्न खोजेका हौँ : देउवा
वि.सं.२०८१ माघ १८ शुक्रवार १४:५८
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यावसायिक वातावरण प्रवर्द्धनको लागि देशभित्र र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानुन ल्याइएको बताएका छन् ।
शुक्रवारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै उनले, अध्यादेशबाट केही कानुन ल्याएको भन्दै त्यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने विश्वास व्यक्त गरे ।
उनले भने,‘देशको आर्थिक अवस्था उकास्न जरुरी छ । हालै सरकारले व्यावसायिक वातावरण प्रवर्द्धनको लागि देशभित्र र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानुन ल्याएको छ । यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने मैले विश्वास लिएको छु ।’
यस्तै उनले कुनै सरकारको मुल्याङकन गर्नको लागि ६ महिनाको समय पर्याप्त नहुने भन्दै यद्यपि यस अवधिमा सरकारले गरेको राम्रा कामको भविष्यमा असल परिणाम देखिने धारणा राखे ।
लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिएता पनि आर्थिक अवस्था सुदृढ हुन नसकेको कारण परिणामस्वरूप विकास वा समृद्धिको यात्रा चाहनाअनुरूप अगाडि बढ्न नसकेको उनको भनाई छ ।
उनले भने,‘कुनै सरकारको मुल्याङकन गर्नको लागि ६ महिनाको समय पर्याप्त हुँदैन । तर सरकारले यस अवधिमा गरेको काम राम्रो छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने मैले अनुभूति गरेको छु । मुलुकको समग्र विकासका लागि लोकतन्त्रको सुनिश्चितता सुदृढ अर्थतन्त्र आवश्यक हुन्छ । लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग त गरिरहेको छौँ तर आर्थिक अवस्था सुधार हुन सकिरहेको छैन । परिणामस्वरूप विकास वा समृद्धिका यात्रा चाहना अनुरूप अगाडि बढ्न सकेको छैनन् ।’













