सरकारले सामाजिक सञ्जाल विधेयक किन ल्यायो ? यस्तो छ जवाफ

  • काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव विथोल्न खोज्ने प्रयास रोक्नका लागि सामाजिक सञ्जाल नियमनसम्बन्धी कानून आवश्यक परेको बताएका छन् ।

    नेपाल टेलिकमको बार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत एक-अर्कालाई ठोस पुराउने क्रियाकलाप बढ्दै गएकाले सामाजिक सद्भाव विथोल्न खोज्ने प्रयास रोक्नका लागि सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याइएको बताएका हुन् ।

    विधेयकका बारेमा विरोध र छलफल हुनु लोकतन्त्रमा स्वभाविक रहेको उनले बताए । उनले राष्ट्रिय एकता खल्बलाउने काम देशद्रोह भन्ने आधारमा दण्ड र सजाय तोकिएको जिकिर गरे । देशका बिरुद्ध मनपरी लेख्न पाउनुपर्ने कुरालाई प्रेस स्वतन्त्रता भन्न खोज्ने कुरामा राज्य सहमत नरहेको उनले बताए ।

    मन्त्री गुरुङले सुसुचित हुने जनताको अधिकार नखोस्ने र जनताको वाक स्वतन्त्रको ग्यारेन्टी सरकारले गर्ने धारणा राखे । अराजकतालाई नियमन गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिने उनको भनाइ छ । त्यस्तै सञ्चारमन्त्री गुरुङले सुशासन र आर्थिक समृद्धिका लागि सरकारले अध्यादेश ल्याएको र ४७ साल यताकै ठूलो सुधारको प्रयास भएको दावी गरे ।

    उनले नेपाल टेलिकमको सेवाको गुणस्तर बढाउन र नयाँ प्रविधिको प्रयोगबाट सेवा विस्तार गर्न निर्देशन दिए । कार्यक्रममा टेलिकमका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation