
काठमाडौं । सरकारी वकिल कार्यालयले नेकपा एमालेकी प्रदेशसभा सदस्य रेखा शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि काठमाडौं महानगरका मेयर बालेन शाहले पीडितसँग माफी मागेका छन् ।
नाबालिकालाई घरेलु कामदार बनाई बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेकी शर्मालाई सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । बालेनले भने कानुनी कारबाही हुनुपर्ने माग राख्दै आएका थिए ।
सरकारी वकिलको निर्णयपछि बालेनले फेसबुक मार्फत नाबालिकासँग माफी माग्दै नआत्तिन र समय आउने बताएका हुन् ।
उनले लेखेका छन्, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’