नगरपालिकाका हाकिमले गोलबजार छाडे, मेयरले ज्यादती गरेको गुनासो

1.08K
shares

सिरहा । गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी गाली गलौज र हुलहुज्जतको शिकार भएका छन् ।

फागुन १ गते बिहीबार राति ९ बजे मदिरा सेवन गरेर अधिकृत पुरीको डेरामा पुगेका नगरपालिकाका कै केही कर्मचारी तथा एमालेका कार्यकर्ताहरुले उनलाई गाली गलौज गर्दै हुलहुज्जत गरेका थिए । ज्यान मार्ने धम्की समेत दिइएपछि शुक्रबार बिहानै अधिकृत पुरीले गोलबजार छाडेका छन् । उनी संघीय मामिला मन्त्रालय काठमाडौ पुगेका छन् ।  प्रमुख प्रशासकीय अधिकृत पुरीमाथि हुलहुज्जत भएको थाहा पाएर लेखा अधिकृत गणेश भण्डारीले पनि नगरपालिका छाडेका छन् । प्राप्त जानकारी अनुसार लेखा अधिकृत भण्डारी गुनासो लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास पुगेका छन् । मेयर श्याम कुमार श्रेष्ठले आफ्ना पार्टीका कार्यकर्ताहरुलाई गैर कानूनी रुपमा नियुक्त गरेर तलब खुवाउने गरेको एक दर्जन फर्जी कर्मचारीहरुको तलब निकासा रोक्का गरिदिएपछि दिउँसैदेखि मेयर श्रेष्ठ र लेखा अधिकृत भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत पुरीबीच वादविवाद भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत पुरीले भने,‘बिहीबार राति ९ बजे अचनाक मीन कुमार घिसिङ्ग एउटा समूह लिएर मेरो डेरा अगाडि आएर गालीगलौज गर्न थाले । उनी मादक पदार्थ सेवन गरेर आएका थिए । हुलहुज्जत गर्न थालेपछि मैंले नगर प्रहरी बोलाएँ,’ अधिकृत पुरीले थपे,‘नगर प्रहरीले परिस्थिति नियन्त्रण गर्न नसकेपछि नेपाल प्रहरीलाई बोलाएँ । प्रहरीले पनि त्यो समूहलाई पक्रन सकेन । एमालेका कार्यकर्ता देखेपछि प्रहरी पछि हट्यो । राति ११ बजे वडा नम्बर ६ का वडाध्यक्ष संजीत कुमार लामा आएर घिसिङ्गलाई तानेर लगे । अनि स्थिति साम्य भयो । संजीत लामा र मीन कुमार घिसिङ्ग नातामा ज्वाई जेठान हुन् ।’ अधिकृत पुरी भन्छन्,‘अवस्था डरलाग्दो थियो । रातभरी तनावमा बिताएँ । एकाबिहानै गोलबजार छाडेर काठमाडौं हिँडे । मन्त्रालयमा पुगेर घटना बेलिविस्तार लगाउँछु । नगरपालिकामा वेथिति रोक्न खोज्दा यस्तो भोग्नुप¥यो ।’ काठमाडौं पुगेर मात्र अधिकृत पुरीले घटना विवरण सार्वजनिक गरेका थिए । उनले दुःख व्यक्त गर्दै,‘भने यहाँ बसेर काम गर्ने वातावरण नै छैन ।’

घटना विवरण अनुसार विहीबार करारका कर्मचारीहरुको तलब निकासा दिइयो तर नियुक्ति प्रकृया नपुगेका ज्यालादारी फर्जी कर्मचारीका रुपमा रहेका एमालेका कार्यकर्ताहरुको तलब लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतले रोक्का गरिदिएका थिए । प्रमुख प्रशासकीय अधिकृत पुरी भन्छन्,‘न्यायिक समितिमा कानूनी सल्लाहकार पदमा कार्यरत कर्मचारी मीन कुमार घिसिङ्गको अधिवक्ताको लाइसेन्स मागेपछि उनले देखाउन सकेनन् । अधिवक्ताको लाइसेन्स नै नभएकालाई कानूनी सल्लाहकार पदमा नियुक्ति दिन वा तलब खुवाउन सकिदैन भनेर घिसिङ्गसहित नौं जनाको तलब रोक्का गरिदियौं,’ उनले अगाडि भने,‘मेयर सावले लेखा अधिकृत र मलाई आफ्नो चेम्बरमा बोलाएर तलब दिन दबाब दिनुभयो तर हामीले मानेनौं । दिउँसो तलब नदिएको त राति हुल बाँधेर हुलहुज्जत गर्न आइपुगे । मेयर सावलाई फोन गरेर जानकारी गराए पनि उहाँले वास्ता गर्नुभएन ।’ यता मेयर श्रेष्ठसँग घटना भएको १८ घण्टा पछि सोधनी गर्दा उनले भने,‘आफूले पनि गाइँगुइँ सुनेको छु । वास्तविकता बुझ्दै छु । उनले भने तीन वर्षदेखि तलब खाँदै आएका कर्मचारीहरुको तलब रोक्का गर्नु प्रमुख प्रशासकीय अधिकृत पुरीको ज्यादती हो । उनले भन्दैमा पुराना कर्मचारी अनीयमित हुँदैन ।’
हुलहुज्जत गर्ने कर्मचारी तथा एमाले कार्यकर्तामाथि कारवाही हुन्छ त भन्ने प्रश्नमा श्रेष्ठले भने,‘पार्टीमा पनि रिपोर्टिङ्ग गरिदिएको छु । कानून बमोजिम कारवाही हुन्छ ।’

नगरपालिकाका प्रशासन शाखाका एक कर्मचारीले नाम उल्लेख नगरिदिने सर्तमा बताए अनुसार प्रमुख प्रशासकीय अधिकृत पुरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा गएर मेयर पुत्रको पालिकामा अनाधिकृत हस्तक्षेपबारे गुनासो गरिदिएका थिए । त्यसपछि अख्तियारबाट फोन गरेर मेयर श्रेष्ठलाई सचेत गराइएकोले मेयर श्रेष्ठकै इशारामा अधिकृत पुरीमाथि योजनबद्ध रुपमा हुलहुज्जत गराइएको हो । विहीबार दिउँसो अधिकृत पुरीले मेयर श्रेष्ठद्वारा सदर गर्न पठाइएको दुईवटा फाइलहरु फर्काइ दिएका थिए । त्यसपछि मेयर श्रेष्ठले ‘यस्ता हाकिम दुई दिन मै अर्को ल्याउँछु ’ भन्ने कार्यकक्षमै जंगिएको एक कर्मचारीले बताए । नेकपा माओवादीका स्थानीय नेता रामचन्द्र सिंह भन्छन्,‘डाँडामाथि चितुवा कराएर गैरीमा बाख्रा हराएजस्तो फगत संयोग मात्र होइन । यो घटना त जानीबुझी गराइएको हो ।’ ‘अधिकृत पुरीले मेयर श्रेष्ठको मनोमानी र अनियमिततामाथि अंकुश लगाउन थालेपछि उनलाई भगाउन यो हुलहुज्जत गराइएको हो । पुरीमाथि भएको अन्यायपूर्ण घटनामाथि पालिकामा बिभिन्न तह र तप्कामा परिचर्चा सुरु भएको छ,’ उनले भने ।