पीडित विद्यार्थी अनुहार छोपेर पत्रकार सम्मेलनमा, घट्नाको सत्यतथ्य छानबिन गर्न माग

  • काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा ईन्सिटच्युट आफ ईन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले आफूहरूमाथि आपराधिक क्रियाकलाप भएको बताएका छन् ।

    उनीहरूले स्थानीय प्रहरी र सुरक्षा गार्डले अमानवीय व्यवहार गरेको समेत बताए । सुरक्षालाई मध्यनजर राख्दै अनुहार छोपेर शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेका उनीहरूले प्रकृति लम्सालको मृत्युबारे सत्यतथ्य छानबिन हुनुपर्ने र पीडित विद्यार्थीहरूले न्याय पाउनुपर्ने माग राखे ।

    लम्सालको शङ्कास्पद मृत्युपछिको उत्पन्न भएको परिस्थितिका क्रममा आफूहरूमाथि ज्यादती र अमानवीय व्यवहार भएको गुनासो गरेका हुन् ।
    ‘पुलिसले मात्रै नभएर त्यहाँको सेक्युरिटी गार्डहरूले पनि कुटपिट गर्न थाले । जति छिटो आफ्नो देश गइहाल भने । आफ्नो देशमा गएर काम गर, खेत खनजस्ता कुरा भनियो,’ एक पीडित विद्यार्थीले भने ।

    साथै प्रकृतिको मृत्युपछि त्यहाँका शङ्कास्पद सबैलाई नियन्त्रणमा नलिइएको र उनीहरूमाथि छानबिन नभएको बताए ।

    उक्त घटनाले नेपालीहरूको इज्जत गएको र आत्मसम्मानमा चोट पुगेको उनीहरूको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित विद्यार्थीहरूलाई भेटेर उनीहरूको पीडा सुनिदिनु पर्ने उनको माग छ ।

    पत्रकार सम्मेलनमा भेला भएका अधिकांश विद्यार्थीले अनुहार छोपेर लम्सालको न्यायको माग गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation