
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यले कर्णालीलाई बेवास्ता गरेको बताएका छन् ।
बालुवाटारमा शनिवार प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूसँगको चियापान समारोह कार्यक्रममा बोल्दै उनले राज्यले कर्णालीलाई जति महत्त्व दिनुपर्ने थियो त्यो हिसाबले नदिएको बताए ।
उनले भने, ‘राज्यले कर्णालीलाई हेरिरहेको छैन । राज्यले जसरी हेर्नुपर्ने त्यसरी हेरेको छैन । त्यहाँ हाइड्रो पावरको त्यस्तै राम्रो छ । होमस्टे, जडीबुटीको लागि उतिकै राम्रो छ । तर जडीबुटी त्यहाबाट ल्याएर इन्डिया, चाइना पठाएर मात्र हुँदैन । त्यहाँ प्रशोधन गर्न राज्य लाग्नुपर्याे । यार्सागुम्बा प्रशोधन गर्न सक्छौ । कर्णालीमा धेरै छ ।’
उनले नेपाली काङ्ग्रेस कमजोर हुँदै गएको र त्यसलाई बचाउनुपर्ने जिम्मा प्रजातन्त्र सेनानीको रहेको पनि बताए ।
‘नेपाली काङ्ग्रेस तपाईँहरू प्रजातन्त्र सेनानीहरुदले बचाउनु भएको हो । तपाईँहरू नै हो अब नेपाली काङ्ग्रेसको खम्बा, नेपाली काङ्ग्रेस कमजोर हुँदैछ । अत्यन्त अप्ठ्यारो परिस्थितिमा नेपाली काङ्ग्रेस छ । नेपाली काङ्ग्रेसलाई तपाईँहरूले फेरी एक पटक बचाउनुपर्ने छ’ उनले भने ।
उनले प्रजातन्त्र सेनानीका प्रतिनिधिहरूलाई महाधिवेशन र राज्यको प्रतिनिधित्व गर्ने ठाउँमा ल्याउन सहयोग गर्ने पनि बताए ।