वर्तमान सरकारको प्रस्तुति दिनप्रतिदिन खस्किँदै गएको छ : प्रचण्ड

741
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकारको प्रस्तुति दिनप्रतिदिन खस्किँदै गएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले सरकारको प्रस्तुति दिनप्रतिदिन नराम्रो हुँदै गएको भन्दै जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोश पनि बढ्दै गएको बताएका हुन् ।

उनले भने, ‘अहिले देशको राजनीतिक परिस्थिति अलिकति चुनौतीपूर्ण नै छ । सरकारको प्रस्तुति दिनप्रतिदिन नराम्रो हुँदै गएको छ । जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आफ्नो आफ्नो हिसाबले प्रयोग गर्ने प्रयास पनि गरिरहेकै छन् ।’

यसको साथै, उनले स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न अब पुरानैको निरन्तरता होइन, नयाँको थालनी गर्ने बेला आएको बताए ।

एकातिर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने र अर्कोतिर विभिन्न अभियानमार्फत जनतालाई अपिल गर्ने पार्टी निर्णय कार्यान्वयन सुरु भएको उल्लेख गर्दै उनले यसको मर्मलाई आत्मसात् गरेर अघि बढ्न आग्रह गरे ।

यसको साथै, उनले समुदायसँग मिलेर स्थानीय विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्नेमा सबै नेता कार्यकर्ताको समान बुझाइ हुनुपर्ने उल्लेख गर्दै समाजवादतर्फको यात्रा सुरु गरेन भनेर कुनै न कुनै रूपले देश दुर्घटनामा जाने बताए ।

देश विकास विदेशीको नक्कल गरेर होइन, आफ्नै विशेषतालाई अघि बढाएर मात्र हुने भन्दै आउने पीढीको भविष्यलाई समेत ध्यान दिएर नेपाली समाजमा अग्रगामी विकल्प दिनुपर्ने दायित्व माओवादीको काँधमा आएको बताए ।

उनले पछिल्लो केही समय आवश्यकता भन्दा बढी सहकार्य र समीकरण गर्दै जाँदा आफ्नो वर्ग र समुदायसँगको सम्बन्ध कमजोर भएको गम्भीर आत्म समीक्षा गरेर आफ्नै वर्गमा फर्कनुपर्छ र पार्टीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने निष्कर्षमा पुगेर नयाँ अभियान थालिएको जानकारी दिए ।