रिंकु सदालाई ‘न्याय देऊ’ भन्दै जनकपुरमा धर्ना
वि.सं.२०८१ फागुन ११ आइतवार १५:१०
shares

जनकपुर । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदालाई न्याय देऊ भन्दै जनकपुरधाममा सडक अवरोध गरी धर्ना दिइएको छ ।
आइतबार जनकपुरधामस्थित जनक चोकमा संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित महिला संघ, धनुषाले बाटो अवरोध गरी धर्ना दिएका छन् ।
उनीहरूले दलितमाथि बारम्बार ज्यादती भइरहँदा पनि सरकार मौन बसेको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
धर्नामा बसेकाहरूले मधेश प्रदेशका मुख्यमन्त्रीले रिंकु सदाको विषयमा कुनै चासो नदेखाए भन्दै आक्रोश व्यक्त गरेका छन् । अनुगमनको नाममा जिल्ला जिल्ला पुग्ने मुख्यमन्त्री सिंहलाई एउटा तल्लो जातको दलित समुदायको घर पुग्न अप्ठ्यारो लागेको हो की भनेर उनीहरूले प्रश्न गरेका छन् ।
उनीहरूले मानव अधिकार आयोग, महिला अधिकार आयोग र मधेशी आयोगले अहिलेसम्म कुनै चासो नराखेको भन्दै आक्रोश जाहेर गरेका छन् ।
उनीहरूले रिंकु सदालाई बलात्कार गर्ने तीनै जना र यस घटनाको मिलापत्र गर्न बसेका पञ्चलगायत सम्पूर्ण अपराधीलाई कडा भन्दा कडा सजाय नदिए विरोध गरिरहने चेतावनी दिएका छन् ।
धर्ना पश्चात् उनीहरूले जनकपुरधाममा सरकारविरोधी नारा लगाउँदै विभिन्न चोकमा जुलुस निकालेका थिए ।
रिंकुकुमारी गएको माघ ३० गते बेलुका ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसअघि उनले गाउँके तीन जना केटाले आफूलाई बलात्कार गरेको जानकारी दिएपछि गाउँमै पञ्चायत बसी तीनै जना केटासँग १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णय भएको थियो । सो निर्णय रिंकु र उनको परिवारलाई मन परेको थिएन ।













