पशुपतिबाट साधुसन्तको गरियो विदाइ, दुई सयदेखि नौं हजारसम्म दक्षिणा
वि.सं.२०८१ फागुन १६ शुक्रवार १५:३६
shares

काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधु सन्तहरूलाई दक्षिणासहित बिदाइ गरिएको छ । शुक्रवार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको हो ।
गुठी संस्थानका सञ्चालक सदस्य कृष्ण प्रसाद रेग्मीले साधु सन्तहरूको वर्गीकरण गर्दै त्यही अनुसारको दुई सयदेखि नौ हजार रुपैयाँसम्मको खर्चको व्यवस्था गरेर बिदाइ गरेको जानकारी दिएको छ ।
उनले भने,‘हामीले साधुहरूलाई विभिन्न वर्गीकरण गरेको छौँ । त्यही अनुसार नै दक्षिणा दिएर बिदाइ गर्दै छौँ । दुई सय रुपैयाँदेखि लिएर नौ हजारसम्मको दक्षिणा दिएर बिदाइ गरेका छौँ ।’
त्यस्तै उनले साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थानले पहिले गर्ने प्रचलन भएता पनि केही वर्षदेखि कोषले पनि आधा खर्च गर्न थालेको बताए ।
उनले भने,‘शिवत्रात्रिको बेला सम्पूर्ण खानपानदेखि बस्ने र धुनीको व्यवस्था साधु सन्तहरूलाई दक्षिणा दिने र गुठीले बिदाइ गर्ने परम्परा थियो । अहिले कोषले गुठीले दिएको आधा रकम हामी पनि दिन्छौँ भनेर उहाँहरूले पनि गर्न लाग्नु भएको छ ।’






