लागू औषध समाजमा अत्यन्तै चुनौतीका रूपमा देखियो : गृहमन्त्री

1.26K
shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागू औषध समाजमा अत्यन्तै चुनौतीका रूपमा देखा परेको बताएका छन् । शनिवार ‘लागू औषध विरुद्धको महाअभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले लागू औषध समाजका लागि एउटा घातकको रूपमा देखा परेको बताएका हुन् ।

उनले भने, ‘लागू औषध अत्यन्तै चुनौतीका रूपमा देखिसकिएको छ । समाजका लागि एउटा घातकको रूपमा देखा परेको छ । खास गरेर युवाहरूमा यसले अत्यन्तै नकारात्मक असर पारिरहेको छ । समाजकै लागि चुनौतीपूर्ण बन्दै गइरहेको छ । व्यक्ति व्यक्तिलाई यसले समाप्त गर्दै छ । समग्र समाजलाई यसले खोक्रो बनाउँदै छ । समाजलाई यसले आक्रान्त गरिरहेको छ भयानक रूपले । जो व्यक्ति लागू औषधको दुर्व्यसनमा परेको छ उसको त जीवन समाप्तितर्फ गएकै छ । तर समग्र परिवारले अत्यन्त पीडा र चिन्तामा जीवन निर्वाह गर्नुपरेको अवस्था छ ।’

साथै उनले समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागू औषध भएको बताए । उनले यौनजन्य हिंसाका पछि समेत लागू औषध नै जोडिएको बताए ।

उनले भने, ‘समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागू औषध बनेको छ । यौनजन्य हिंसाका पछि समेत लागू औषध नै जोडिएको छ । झन्डै ३३ प्रतिशत भन्दा बढी मानिसहरू लागू औषधको दुर्व्यसनमा परेका छन् । एक दिनमा १७ जना मानिस आत्महत्या गरेर मरिरहेका छन् । मानिस लागू औषध सेवन गर्छ र डिप्रेसनमा जान्छ यसको पछि पनि लागू औषध नै छ ।’