फैसला कार्यान्वयनका लागि १४ फरार प्रतिवादी पक्राउ

1.21K
shares

रौतहट । रौतहट प्रहरीले १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेमा लागुऔषध, जुवा, कुटपिट, जालसाजी, वन ऐन उल्लघंन तथा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दामा सजाय तोकिएका प्रतिवादीहरू छन् ।

कुटपिट तथा लुटपिट मुद्दामा कमल साह तेली र शुभ नारायण साह पक्राउ परेका छन् भने, जालसाजी अभियोगमा बद्री पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी दीपककुमार रायले बताए ।

उनका अनुसार सम्बन्ध विच्छेदसम्बन्धि मुद्दामा मो असलमलाई पक्राउ गरिएको छ। लागूऔषध मुद्दामा प्रेम राना, सागर अर्याल, विन राना मगर (किरण राना मगर) र सन्तमान लामा (सन्चरमान तामाङ), जुवा खेल्ने अभियोगमा किशोर कुमार चौधरी, राम दिनेश साह र शिवराज अधिकारी क्षेत्री पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेका १४ जनालाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रवक्ता रायले बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटले फरार रहेका प्रतिवादीलाई पक्राउ अभियान नै संचालन गरेको छ ।अदालतको आदेशअनुसार फरार रहेका अन्य प्रतिवादीहरूको समेत खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।