न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरूलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

949
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्न खोज्दा त्यसको विरोध र झुटो आरोप लगाउने लहर चलेको बताएका छन् ।

मङ्गलवार काठमाडौंमा आयोजित ट्रेड युनियन आन्दोलनको ७८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूहरू सरकारमा हुँदा नाटक गरेर समय बिताउने र अर्कोले गर्न खोज्यो भने त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने प्रवृत्ति रहेको बताए ।

उनले भने, ‘नेपालमा एउटा लहर के छ भने राम्रो काम गर्न कसैले खोज्यो भने त्यसको विरोध गर्ने झुटो आरोप लगाउने लहर नै छ । कुनै सरकारले राम्रो काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने, आफू सरकारमा भयो भने ड्रामा गर्ने चलन छ । अर्कोले गर्न खोज्यो भने त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने ।’

कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘म चर्चा सुनिरहेको छु, खुद नर्सहरूले पनि न्यूनतम तलब पाइरहेका छैनन् । त्यस्तो हो भने, उनीहरू पनि श्रमिक हुन्, फरक होइनन् । न्यूनतम पारिश्रमिक भन्दा कम तलब दिएर काममा लगाउन कहीँ पनि पाइँदैन । त्यो कानुन लाग्ने विषय बनाउनुपर्छ । ‘पारिश्रमिक कुनै पनि बहानामा न्यूनतमभन्दा तल दिन पाइँदैन ।’

त्यस्तै उनले हरेक जनताले समृद्धि र विकास पाउनुपर्छ भन्ने विषयमा सरकारको ध्यान गएको पनि उनले जानकारी दिए ।

उनले भने, अहिले अलि बढी संवेदनशीलतातिर वा भावनातिर बगेर अनावश्यक कुरामा नलागौँ । सही ढंगले जाति–भाषाको उत्थान गरौँ । त्यसमा सरकार सहयोग गर्न तयार छ । हरेक जनताले समृद्धि र विकास पाउनुपर्छ । त्यसमा सरकारको ध्यान गएको छ ।’