युगान्डामा खेल्न जाने महिला क्रिकेट टोलीको बिदाइ
वि.सं.२०८१ फागुन २१ बुधवार १६:२७
shares

काठमाडौं । युगान्डामा हुने चारदेशीय महिला टी–२० आई शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
बुधवार नेपाल क्रिकेट संघ क्यानले मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी यही मार्च ८ देखि युगान्डामा हुने चारदेशीय महिला टी–२०आई शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको हो ।
शृङ्खलामा नेपाल, युगान्डा, हङकङ र नामिबियाको सहभागिता रहने छ ।
बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव लिनका लागि यो खेलले सहयोग पुग्ने बताए । महिला क्रिकेटमा पहिले भन्दा अहिले चासो बढेको भन्दै अब जित र हारको मूल्याङ्कन सुरु भइसकेको पनि बताए ।
उनले भने, ‘हामी नयाँ ठाउँमा क्रिकेट खेल्न गइरहेका छौँ । खेलाडीहरूले जति नयाँ ठाउँमा खेल्दै गयो त्यति नयाँ अनुभवहरू लिन सकिन्छ । महिला क्रिकेटमा पहिले भन्दा अहिले चासो बढेको छ । पहिला खेल्दा खासै मतलब हुँदैनथ्यो तर अब जित र हारको मूल्याङ्कन सुरु भइसकेको छ । हामी तपाईँहरूमा विश्वास गर्छौँ, राम्रो क्रिकेट खेलेर फर्कनु हुनेछ भन्ने आशा छ र शुभकामना पनि दिन चाहन्छु ।’
त्यस्तै, टिमकी कप्तान इन्दु बर्माले फिल्डिङ र फिटनेसमा सुधारका लागि धेरै काम गरेको र टिमको तयारी एकदमै राम्रो भएको भन्दै यस पटक राम्रो क्रिकेट खेलेर फर्कने बताइन् ।
नेपालले मार्च ८ (फागुन २४)मा नामिबियासँग खेल्नेछ भने, फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।












