मन्त्री यादवको अभिव्यक्ति प्रति पत्रकार सङ्गठनहरूको आपत्ति
वि.सं.२०८१ फागुन २१ बुधवार १७:१६
shares

जनकपुर । नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका नेता एवं मधेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले जनकपुरधामका पत्रकारहरूलाई लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति धनुषालगायत मधेश प्रदशेका विभिन्न पत्रकार संगठनहरुले आपत्ति जनाएका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मन्त्री यादवले पत्रकारहरूले आफूलाई फोन गरेर योजना र ठेक्का दिन दबाब दिने गरेको सुनाएका थिए । मन्त्री यादवको सोही अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विभिन्न पत्रकार संगठनहरुले छुट्टा छुट्टै विज्ञप्ति निकालेका छन् ।
पत्रकारहरूलाई योजना र विज्ञापन नदिए गलत लेखिदिने भन्ने अभिव्यक्तिले प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन गरेको भन्दै प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिले आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ ।
प्रेस मञ्च मधेश प्रदेशका उपाध्यक्ष रामहृदय यादवले विज्ञप्ति जारी गर्दै मन्त्री यादवले दिएको अभिव्यक्ति राज्यको चौथो अंगको रूपमा स्थापित पत्रकार र पत्रकारिता पेशाप्रति प्रेस स्वतन्त्रताको मानमर्दन गरेको र प्रेस स्वतन्त्रताविरुद्धको कार्य गरेको भन्दै खेद प्रकट गरेको छ ।
सार्वजनिक पदमा रहेको व्यक्तिले प्रेस स्वतन्त्रताको मर्म विपरीत, प्रेसमाथि दबाब सिर्जना गर्ने वा धम्की दिने कार्य निन्दनीय रहेको मञ्चले जनाएको छ । साथै मन्त्रीले आफ्नो अभिव्यक्तिप्रति स्पष्टता दिनुको साथै भविष्यमा यस्ता कुनै पनि गतिविधि नदोहोर्याउने प्रतिज्ञा गर्न माग गरिएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्ति र धनुषाका सचिव बटुकनाथ झाले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गरी अभिव्यक्ति सच्याउन माग गरेका छन् ।













