यस्तो छ मन्त्रिपरिषद्बाट कुलमानलाई हटाउन सोधिएको स्पष्टीकरण (पूर्णपाठ)
वि.सं.२०८१ फागुन २२ बिहीवार १९:३८
shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले पटक पटक प्रयास गर्दा पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन नसकेपछि मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोध्ने निर्णय भएको ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङ तीन दिनभित्र सफाइ पेश गर्न भन्दै स्पष्टीकरण सोधेको हो ।
मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको थियो । उक्त अधिकार पाएसँगै मन्त्रालयले ‘तपाईंको नियुक्ति रद्द किन नगर्ने’ भन्दै सफाइ पेस गर्न पत्र पठाएको हो ।
यस्तो छ पूर्णपाठ
स्पष्टीकरण पत्र
मितिः २०८१/११/२२
कार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण,
प्रधान कार्यालय, दरवारमार्ग ।
विषयः सफाई पेश गर्नेबारे ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र तपाईंबीच भएको कार्यसम्पादन सम्झौताको दफा १०.३ तथा नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवाको शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २३ को उपविनियम (१) बमोजिम देहायमा उल्लिखित विषयमा तीन दिनभित्र नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सफाइ पेश गर्न मौका दिने भनी नेपाल सरकार, मन्त्रिपरिषद्को म.प.वै.सं.५८/०८१, मिति २०८१ र ११ र २१ को निर्णयानुसार आफ्नो सफाइ पेश गर्नु हुन जानकारी गराइन्छ ।
क. मन्त्रालय र तपाईं बीच मिति २०७८/१०/५ ( सन २०२२ जनवरी १९) मा भएको कार्यसम्पादन सम्झौताको दफा ९.५ को समयसीमा भित्र आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन प्रतिवेदन पेश नगरी सम्झौताको शर्त उल्लङ्घन गर्नुभएको कारण सोही सम्झौताको दफा १०.३ को अवस्था उत्पन्न भएकोले सोही दफा १०.३ बमोजिम तपाईसँगको सम्झौता अन्त्य गरी तपाईंको नियुक्ति रद्द किन नगर्ने ?
ख. नेपाल सन्धि ऐन, २०४७ को दफा २ को खण्ड (ख) एवं नेपाल सरकारबाट जारी भएको सन्धि सम्पन्न गर्ने निर्देशिका, २०७७ को दफा २ को खण्ड (छ) बमोजिमको अधिकारपत्र (पूर्णाधिकार) विना तपाईले सन् २०२४ मार्च ११ र २०२५ फेब्रुअरी १२ मा भएको नेपाल इन्डो वावर एक्सचेञ्ज कमिटीको क्रमशः १५ औं र १६ औं बैठकमा सेन्६्रल इलेक्ट्रिसिटी अथ्योरिटी सँग भारतीय आर्थिक वर्ष २०२४/२५ र २०२५/२६ का लागि द्विपक्षीय विद्युत विनिमय समितिको बैठकबाट तय भएको सहमतिपत्रमा हस्ताक्षर गरी आफूलाई अधिकार नै नभएको कार्य गरेर आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेको हुँदा नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवाको तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) अवस्था भएकोले तपाईलाई पदबाट किन नहटाउने ?
ग. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/७/२५ को निर्णयबाट डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युतको वक्यौता रकम मिटर समेतको आधारमा महसुल निर्धारण तथा असूली सम्बन्धी विषयमा मन्त्रालय मार्फत दिएको निर्देशनको कार्यान्वयन नगरी अवज्ञा गरेकोले तपाईलाई पदबाट किन नहटाउने ?
घ. नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम कार्यकारी निर्देशकले पालना गर्नु पर्ने आफ्नो काम र कर्तव्य पालना नगरेकोले तपाईलाई पदबाट किन नहटाउने ?
बोधार्थः श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरवार, काठमाडौं ।
सुरेश आचार्य सचिव













