पूर्वराजालाई पार्टी खोल्न प्रचण्डको सुझाव
वि.सं.२०८१ फागुन २४ शनिवार ०९:२०
shares

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजालाई राजनीति गर्न मन लागेको भए पार्टी खोल्न सुझाव दिएका छन् ।
जनताको उदारतालाई कमजोरी सम्झेर पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति गर्न खोजेको भए पार्टी खोलेर चुनाव लड्न आए हुने उनको तर्क छ ।
नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत रौतहटमा आइपुगेका अध्यक्ष प्रचण्डले पार्टी खोल्न र चुनाव लड्ने अधिकार संविधानले दिएकोले चुनाव जितेर आउन सकिने बताए ।
यद्यपि जवर्जस्ती गर्न खोजियो भने जनतालाई सह्य नहुने उनले धारण राखे । यस अघि पनि ज्ञानेन्द्रले मूर्खता गरेको उल्लेख गर्दै उनले अब फेरि अर्को मूर्खता गरेर गल्ती नगर्न उनले चेतावनी दिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकार उल्टो उल्टो गर्दै हिड्को टिप्पणी गरेका छन् । देशको लागि राम्रो नभएको उनको भनाइ छ । एक फरक प्रसङमा अध्यक्ष प्रचण्डले गरुडामा रहेको श्री राम सुगर मिल सञ्चालनमा ल्याउनु पर्ने र यसका लागि आफू र आफ्नो पाटी तयार रहेको बताए ।
प्रचण्ड सहितका माओवादी नेताले गरुडा नगरपालिकामा शनिबार मर्निङवाकसँगै आजको अभियान सुरु गरेका हुन्। मर्निङवाकपछि प्रचण्डले क्याम्पस रोड मेथुरमा स्थानीयसँग छलफल तथा अन्तरक्रिया गरेका छन् । फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै शुक्रबार साँझ रौतहट प्रवेश गरेको हो ।
यो अभियानका टोली गएराति गरूडामा नै बास बसेको नेकपा माओवादी केन्द्र रौतहटले जनाएको छ ।













