पोखरामा कोटीहोम सम्बन्धी विवाद चर्कियो, कसले के भने ?
वि.सं.२०८१ फागुन २४ शनिवार १०:४४
shares

पोखरा । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपुजन गर्न थालेपछि पोखरा महानगरपालिकाले प्रहरी परिचालन गरेको छ ।
अनुमति बेगर लेकसाइडको बाराहीघाटमा सुरु भएको भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको हो । ५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ । भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप समेत भएको छ ।
यस विषयमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले पोखरा महानगरपालिका कुनै धर्म विरोधी नभएको भन्दै यो ठाउँ यो कार्यक्रमको लागि उपयुक्त नभएको मात्र भन्न खोजेको बताए । उनले भने, ‘यस्तो स्वीकृति नै छैन । महानगरपालिकाले यो ठाउँमा स्वीकृति नै दिएको छैन । स्वीकृति नभएपछि यहाँ पूजा गर्नै मिलेन नि, महानगरपालिकाले सबै धर्मलाई सम्मान गर्छ । संस्कृतिहरू बचाउनको लागि सिङ्गो महानगरपालिका सकारात्मक छौ । हामीले भन्न खोजेको कुरा मात्र के हो भने यो ठाउँ यो कार्यक्रमको लागि उपयुक्त छैन ।’
यस्तै, विश्वविख्यात कथा वाचक वालयोगेश्वर विजय कृष्णमुर्तिले महानगरपालिकाको आदेशमा लाठी, बुट प्रहार भएको भन्दै पूजापाठ, आराधना, गरिरहेको समयमा नगर पिता जस्तो व्यक्तित्वबाट यस्तो कार्यको अपेक्षा नगरेको बताए ।
उनले भने, ‘महानगरपालिकाको आदेशमा लाठी, बुट प्रहार भएको छ । हातपात भएको छ । षड्यन्त्रपूर्वक मान्छेहरू पठाएको पनि प्रमाणित भइसकेको छ । हामी एउटा क्षेत्रभित्र आनन्द भावले पूजापाठ, आराधना, भूमिपूजन गरिरहेका थियौँ । त्यो समयमा यो किसिमको व्यवहार नगर पिता जस्तो व्यक्तित्वबाट हामीले अपेक्षा गरेका थिएनौ । हाम्रो विभिन्न पूजन सामग्रीहरू पनि जफत गरेर लिएर जानु भएको छ ।’
कोटीहोम गर्न दिने कि नदिने भन्ने विवादका बीच उच्च अदालत पोखराले यसअघि मानव सेवा फाउन्डेसनलाई कोटीहोम गर्न अवरोध नगर्न पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको थियो ।
उक्त अन्तरिम आदेश भएलगत्तै फाउन्डेशनले कोटीहोम स्थल सरसफाइ गरेको थियो । तर कोटीहोम गर्न अवरोध नगर्न अन्तरिम आदेश दिएको उच्च अदालत पोखरामा नै फेरी कोटीहोम रोक्न माग गर्दै अर्को रिट दर्ता भइसकेको छ ।













