पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा आउन प्रधानमन्त्री ओलीलाई आग्रह

1.56K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि डाकेका छन् ।

राजा सबैका साझा हुने भन्दै पूर्वराजा ज्ञानेन्द्र प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा भएकाले स्वागत गर्न आउनुपर्ने धारणा राखेका हुन् । कतारका राजालाई स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने भन्दै उनले प्रधानमन्त्री ओलीलाई स्वागतका लागि आउन आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा सरकारले नगरोस् । सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु । कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने? राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन् । यो १६ वर्षमा देशमा लुटतन्त्र मच्चाएर अझै पुगेको छैन गाउँ गाउँमा छोटे राजाहरू छन् । ८० लाखभन्दा बढी युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन् । एक वर्षमा ७ लाखभन्दा बढी युवाहरू विदेशिन्छन् । उद्योग बन्द गर्यौ कलकारखाना बन्द गर्यौ । राजाका पालामै निर्माण भएका निःशुल्क उपलब्ध स्वास्थ्य शिक्षा जस्ता आधारभूत सेवा र सुविधाहरू पैसामा बिक्री गर्ने र बेच्ने धन्दा चलायौ । अदालत कार्यकर्ताको बनायौ । प्रहरी कार्यकर्ताको बनायौ । कर्मचारी कार्यकर्ताको बनायौ शिक्षक कार्यकर्ता बनायौ भ्रष्टाचारले तिमीहरू डङ डङ्गती गनायौ । तिमीहरुलाई अझै के आधारमा विश्वास गर्ने ? अब तिमीहरु जस्ता भ्रष्टाचारीहरुलाई तह लगाउनका लागि एउटा संस्था चाहियो जसलाई भनिन्छ राज संस्था ।’

पूर्वराजा ज्ञानेन्द्र शाह करिब १ महिनाको पोखरा बसाइपछि आज काठमाडौँ फर्कँदैछन् । माघ २७ गते पोखरा पुगेका उनले पोखरा र आसपासका शक्तिपीठहरुमा समय बिताएर आज दिउँसो २ बजे काठमाडौं फर्किने तयारी गरेका हुन् । उनी फर्किने भएपछि राजावादी दल तथा व्यक्तिहरुले उनको स्वगत स्वरुप शक्ति प्रदर्शनको तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), कमल थापा नेतृत्वको राप्रपा नेपाल, अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन् ।