प्रचण्ड संसदमा ओली विराटनगरमा प्रचण्ड बोल्दा ओली किन भाग्छन् ?
प्रधानमन्त्री ओलीप्रति प्रचण्डको गुनासो
वि.सं.२०८१ फागुन २७ मंगलवार १२:१४
shares

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज प्रतिनिधि सभामा बोल्दैछन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जाने भएकाले प्रचण्ड बोल्दा प्रतिनिधि सभामा अनुपस्थित रहनेछन् । सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रचण्डले संसदलाई गर्ने सम्बोधनबारे छलफल भएको थियो । छलफलपछि प्रचण्डले सम्बोधन गर्ने तय भएको हो । यसअघि गत माघ २४ गते प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । त्यतिबेला प्रचण्डले प्रधानमन्त्री ओली उपस्थित नभएकोमा गुनासो गरेका थिए ।
‘संसदीय लोकतन्त्रको परम्पराअनुुसार सत्तापक्षको तर्फबाट बोल्दा प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलका नेताहरू उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने परम्परा छ’ प्रचण्डले भनेका थिए । प्रधानमन्त्री आउँदै छन् होला भनेर प्रचण्ड आफ्नो भनाइमा अगाडि बढेका थिए । तर, त्यस दिन प्रधानमन्त्री ओली उपस्थित भएनन् । सो समयमा प्रधानमन्त्री ओलीले टिकटकरलाई बालुवाटारस्थित निवासमा भेटेको तस्वीर सार्वजनिक भएको थियो ।
मंगलबार प्रचण्ड बोल्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित रहने भएका छन् । किनभने प्रधानमन्त्री ओली कोशी प्रदेश सभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न विराटनगर जाने छन् । प्रधानमन्त्री ओलीले दिउँसो २ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यसकारण पनि प्रधानमन्त्री ओली प्रतिनिधि सभाको बैठकमा उपस्थित रहने छैनन् । मंगलबार प्रतिनिधि सभामा आकस्मिक र शून्य समयपछि प्रचण्डले सम्बोधन गर्ने तयारी रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । त्यसपछि विशेष समयमा सांसदहरूले विभिन्न विषय उठाउनेछन् । यसका अलावा सभामा आमसञ्चार विधेयक अगाडि बढाउने कार्यक्रम छ । ०००













