लोकतन्त्रको असली खतरा सरकार आफैंबाट छ : सांसद गौतम
वि.सं.२०८१ फागुन २८ बुधवार १५:०९
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले लोकतन्त्रको खतरा सरकार आफैबाट भएको बताएकी छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सदन, सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सके पनि तर जनताको चेतना नियन्त्रण गर्न नसक्ने बताएकी हुन् ।
उनले भनिन्, ‘सरकार नयाँ उदाउँदै गरेको शक्तिहरूमाथि दमन गर्न उद्यत छ । सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर संकटमा छ । यो सरकार आफैँले निम्त्याएको हो । सरकारले कानुनलाई प्रतिसोधको तरबार बनायो । सदनमा प्रश्नको जवाफ नदिने, सांसदलाई होच्याउने पत्रकारको पास खोस्ने । सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक लिएर आउने निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्ने यी सबै नियन्त्रणमुखी शासकका लक्षणहरु हुन् । सरकारले सदन,सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन । त्यसैले लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैँ हो ।’













