भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने
वि.सं.२०८१ चैत १ शुक्रवार १६:२४
shares

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार मूल्य निर्धारणमा महानिर्देशकको जिम्मेवारी बढी हुने बताएका छन् ।
शुक्रवार अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलमा उनले भन्सार अधिकृतले भन्सार मूल्य निर्धारण गर्दा जुन प्रक्रियामार्फत गर्छन् त्यसमा शंका लागेका पुनः मूल्य निर्धारण गर्ने व्यवस्था राखिएको उल्लेख गरे ।
उनले भने, ‘दफा ४२ मा प्रक्रिया अनुसार नगरेको अथवा निर्धारित मूल्यमा शङ्कास्पद लाग्यो भने महानिर्देशकले त्यसलाई समीक्षा गर्नको लागि पुनः मूल्य निर्धारण गर्न आदेश दिन सक्ने भनेर दफाहरू राखिएको छ । जसले गर्दा कतै गल्ती भयो भने अर्कोतिर सच्चाउन सकिन्छ भन्ने हिसाबले पनि राखिएको हो ।’
महानिर्देशकले आदेश दिएमा भन्सार अधिकृतले पनि त्यो आदेश ३० दिनभित्र पुनः भन्सार मूल्य निर्धारण गरेर महानिर्देशकलाई जानकारी दिने गरी कर्तव्य पूरा गर्नुपर्ने उनले बताए ।
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले महानिर्देशकले कस्तो अवस्थामा पुनः चेकजाँच गर्छ भन्ने कुरा सबैले बुझ्नुपर्ने बताए । ‘कुनै बस्तुको जाँच पास भएर गोदाममा गयो तर शंका लागेर पुनः जाँच गर्नुपर्छ भनेर महानिर्देशकले भन्न सक्छ ।तर लामो समयसम्म सामान गोदाममै राख भनेको होइन । गोदाममा गएर विक्री भइसकेको वस्तुको पनि मूल्य निर्धारण गर्न सक्छौ भनेको हो । त्यो पनि ९० दिनभित्र मात्र हो । महानिर्देशकले पत्र लेखेपछि भन्सार अधिकृतले पनि ३० दिन भित्रमा निर्णय गरिसक्नुपर्छ भन्ने हो,’ उनले भने ।
चार वर्षसम्म सामान नराखेको जानकारी दिँदै जाँच पास र धरौटी बुझाएर लैजान सकिने पनि उनले बताए ।













